काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी धन्दामा मुछिएका छन् ।
किर्ते कागजात तयार गरी उनीसँगै जापान गएका तीन युवा पक्राउ परेपछि यो तथ्य खुलेको हो । अहिले प्रहरीले अधिकारीसँगै जापान गएका ३ जनासहित जम्मा सात जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
मानव तस्करीको आरोप लागेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्रीको हैसियतमा अनाधिकृत ढंगले जापान उडेका मन्त्री अधिकारीले पारिवारिक भन्दै गरेको भ्रमण मानव तस्करीसँग मात्रै जोडिएको छ ।
यता अधिकारीले भने जापानको टोकियो महानगरपालिकाको निमन्त्रणामा जापान जान लागेको भएपनि सन्दिग्ध व्यक्तिहरू समेत सो कार्यक्रममा जान लागेको थाहा पाएपछि आफू फर्किएको दाबी गरिरहेका छन् ।
टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि बन्ने भन्दै संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको छ ।
उनीसँगै खोटाङ ऐँसेलुखर्कका जनक राई, खोटाङकै दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा जापान पुगेकामा टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । कञ्चन देवकोटा र जनक राईको साथमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र प्रहरीले बरामद गरेको छ ।
उनीहरू नेपाल ओर्लिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन युवालाई पक्राउ गरी विमानस्थलस्थित सुरक्षागार्डलाई जिम्मा लगाएको थियो । मन्त्री अधिकारीलाई भने पक्राउ गरेको थिएन ।
बुधवार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका मन्त्री अधिकारीले भने तीन युवालाई जापान अध्यागमनले डिपोर्ट गरेपछि आफू पनि फस्ने डरले उनीहरूसँगै फर्किएको दाबी गरेका छन् । तर, अध्यागमन र प्रहरी स्रोतले भने तीन युवासँगै मन्त्री अधिकारीको पनि डिपोर्ट भएको जनाएको छ ।
काठमाडौँ प्रहरीले अहिले लिखतसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अधिकारीसँगै अरू ३ जनालाई सांस्कृतिक कार्यक्रमको आवरणमा जापान पठाउने अरू दुई जना फरार अझै छन् । फरार आरोपीहरूलाई प्रहरीले खोजिरहेको छ ।
मोरङका स्थापित कानुन व्यवसायीसमेत रहेका अधिकारी एमालेबाट उम्मेदवार बनेर मोरङ २ बाटै प्रदेश सभामा दुईपटक निर्वाचित सांसद हुन् । पहिलो कार्यकालमा पनि सुनकाण्डका तस्करको पक्षमा वकालत गरेको भन्दै उनी विवादमा परेका थिए ।