Logo
Logo

एसईईमा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई बोर्डले उत्तीर्ण गरायो


504
Shares

खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका खोटाङका एक जना छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।

गएको वर्षको चैत २० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए ।

गएको असोज १३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुबा परशुराम राईले जानकारी दिए ।

निरीक्षकलाई कारबाहीको माग गर्दै गएको असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर उनलाई कुनै कानूनी कारबाही भएको छैन ।

प्रतिक्रिया दिनुहोस्