बुटवल । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेका सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ । सिमावर्ती क्षेत्रबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैधरुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरेको भन्ने खबर पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।
अवैध चिनी बरामद गरेर फर्किने क्रममा एक सयभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वमा थप फोर्स झिकाइएको थियो ।
सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएपछि बरामद चिनीसहित सवारी साधन राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको छ ।
ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतलाई चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ ।