काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतमा सांगीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका सांगीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ ।
आफ्नो ३२ वर्षको सांगीतिक यात्रामा पहिलोपटक काठमाडौँमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’का गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘हामीले संगीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौँमा पहिलोपटक गुञ्जिँदै छौँ । हामीले यहाँ एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अच्मित छौँ । त्यसकारण यो विश्व भ्रमणको सुरुआत काठमाडौँबाट गर्ने भएका छौँ, यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ ।’
कन्दराले शनिबार ठमेलस्थित एक क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिँदैछ । त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिए । नेपालपछि आउँदो वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा,‘लिड गितार’मा देव लामा छन् ।