काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताको प्रमुख समस्या समाधान गर्न नसकेको भन्दै निरिह भएको टिप्पणी गरेका छन् । दुई तिहाई बहुमतको सरकारले मुलुकको प्रमुख समस्या समाधान गर्नुको साटो आफ्ना आलोचकलाई धरपकड गर्नुले ओली निरंकुश हुदै गएको उनले बताए ।
सिंहदरबार स्थित आजपा संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानीमा आजपा अध्यक्ष साहले मुलुकको समस्या समाधान गर्न नसकेको वर्तमान सरकार आफ्ना आलोचकलाई धरपकड गर्दै निरंकुशताको बाटोमा हिडेको आरोप लगाए ।
‘दुई तिहाईको बहुमतको धाक लगाउने प्रधानमन्त्री जीले मुलुक र जनताको समस्या समाधान गर्न सक्नुपथ्र्यो । तर त्यसमा असफल हुनुभयो । बाढीपीडितले न्याय पाउन सकेका छैनन् । मुलुकको आर्थिक समस्या झनझन बिग्रदै गईरहेको छ । मुलुकलाई समृद्ध बनाउनुपर्नेमा सरकारले राज्यको ढुकुटी सिध्याएर कंगाल बनायो’, उनले भने, ‘धाक दुई तिहाई बहुमतको लगाउने तर आलोचना गर्ने विरोधीलाई छानीछानी धरपकड गर्ने, कारवाही गर्ने, आलोचक र विरोधीलाई तर्साउने कामले मुलुक बन्दैन् ।’
लोकतान्त्रिक मुल्य मान्यता बोकेको नेपाली कांग्रेसले हिजोको दिनमा वाक स्वतन्त्राका लागि लडेको पार्टीले निरंकुश सरकारलाई समर्थन किन गरेको होला ? भन्दै उनले प्रश्न गरे । आफना जायज माग सम्बोधनका लागि विरोध गर्ने, आफूलाई ठिक नलागेको बिषयमा आलोचना गर्ने नेपाली नागरिकको संवैधानिक हकअधिकार भएको बताउदै उनले त्यही संवैधानिक हकअधिकार हनन् हुँदा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मौन बस्नु जायज नभएको उनको भनाई छ ।
‘शान्तिपूर्ण प्रदर्शन गर्ने, विरोध गर्ने, आलोचना गर्ने नागरिकको संवैधानिक हकअधिकार हो । यो अधिकार ल्याउनमा कांग्रेस सहितका दलहरु आज त्यो अधिकार हनन् हुँदा मौन बस्न मिल्दैन्’ आजपा अध्यक्ष साहले भने, ‘दशरथ रंगशालामा प्रधानमन्त्री विरुद्ध हुटिङ गर्दैमा, सडकमा न्यायको माग गर्दै बृद्धबृद्धाले विरोध प्रदर्शन गर्दै धरपकड गर्नुको साटो सरकारले उनीहरुको माग सम्बोधन गर्नुपर्छ ।’