काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११०औँ जन्मजयन्ती तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।’
मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । ‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ’ राष्ट्रपति पौडेलले भने ।
उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए । राष्ट्रपति पौडेलले वीपीले गणेशमानका बारेमा भन्ने गरेका कुरा स्मरण गर्दै भने, ‘गणेशमामजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।’
नेपालमा लोकतन्त्र स्थापना र पुर्नस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनले बताए । ‘दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्वान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदावाजी गर्नुभएन, सिंहको त्यही सद्गुणनै लोकतन्त्रप्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भजे ।
उनले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन नसक्ने बताए ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्ने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरे ।