कास्की । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लोपटक थपेको १० दिनको म्याद आज सकिँदै छ ।
प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको उक्त म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउने तयारी गरिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच आज पनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने भएको छ । आफ्ना सभापतिको पक्षमा रास्वपाले निरन्तर आन्दोलन गर्दै आएको हो । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने रास्वपाको तयारी छ ।