Logo
Logo

भारतको वायु प्रदूषण नेपालसम्मै


378
Shares

काठमाडौं । काठमाडौं उपत्यकासँगै भारतसँग सीमा जोडिएका सहरहरूमा वायु प्रदूषण बढेको छ । पश्चिम नेपालका दाङ, बाँकेलगायत जिल्ला र उपत्यकाका प्रमुख स्टेसनहरूमा प्रदूषणको मात्रा उच्च हुँदै गएको वातावरण विभागको तथ्यांकले देखाएको छ ।

विभागको रेकर्डअनुसार, कात्तिक २५ गते ९आइतबार० दिउँसो १ बजे पछिल्लो २४ घण्टाको वायु प्रदूषणको मापक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) रत्नपार्कमा सबैभन्दा धेरै १४७ पुगेको छ । यस्तै, भक्तपुरको ११७, ललितपुरस्थित खुमलटारको ११५ तथा नेपालगन्जको १०३ पुगेको छ ।

वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार दाङको तुलसीपुर क्षेत्रमा आइतबार दिउँसो १ बजे एक्यूआई १४० पुगेको छ ।

पछिल्लो २४ घण्टाको औसत पीएम २।५ को मात्रा ४० देखि ५६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको तथ्यांक छ । आइतबार बिहान ९ बजेबाट काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ ।

आइतबार दिउँसो १ बजे ६३.२७ रहेको पीएम २.५ को मात्रा साँझ ७ बजे ७३.८२ हुँदै ११ नोभेम्बर अर्थात् सोमबार बिहान २ बजे बढेर ७७.१७ पुग्ने विभागको पूर्वानुमान छ ।

पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दामाथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्