Logo
Logo

मोहनमान सैजुको १३औँ दिनको श्रद्धाञ्जलीसभा


6.6k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैजुको १३औँ दिनको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । 

उक्त श्रद्धाञ्जलीसभामा बोल्दै डा. भेषबहादुर थापाले सैजुसँग युवा अवस्थामा लामो समय काम गरेको अनुभव सुनाउँदै सैजु हरेक चुनौतीसँग जुध्न सक्ने दूरदर्शी व्यक्तित्व भएको चर्चा गर्दै उनको सफल नेतृत्वकै कारण भूमिसुधार लागू गर्ने कामदेखि लिएर गरिबी निवारण कोषसम्म आइपुग्दा देशले धेरै प्रतिफल प्राप्त गरेको बताए । 

‘२२ वर्षकै उमेरमा भूमिसुधार कार्यक्रम प्रारम्भ गर्ने काम कम चुनौतीको थिएन । तर त्यसलाई पनि अवसर ठानेर उहाँले सफलताको बिन्दुमा पु¥याउनुभयो, त्यो सँगसँगै गरिब किसानहरूको आर्थिक विकासका लागि गरिबी निवारण कोषको नेतृत्व गर्नुभयो’ थापाले स्मरण गर्दै भने । 

चाँदनी जोशीले सैजुसँग काम गरेको अनुभव सुनाउँदै उनी दृढ इच्छाशक्ति भएको व्यक्ति भएकोले जस्तोसुकै कठिन कामलाई पनि सफल पार्ने भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘हरेक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक छ भनेर महिलालाई प्रोत्साहन गर्ने उहाँको विशेष गुणको चर्चा गर्नुभयो ।  उहाँ कस्तुरीजस्तो विशेष गुणले सम्पन्न व्यक्ति हुनुहुन्थ्यो ।’

इन्जिनियर प्रमोदबहादुर श्रेष्ठले सैजुको बारेमा चर्चा गर्दै गर्न नसकिने काम के रहेछ ? चाह्यो भने देशका लागि छोटै समयमा पनि धेरै काम गर्न सकिन्छ भन्ने कुराको एउटा उदाहरण डा. सैजु भएको बताए  । 

त्यसैगरी तानसेन गुठीका सचिव ई. सुरेन्द्र श्रेष्ठले सैजु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको बेला आफ्नो जन्मस्थानलाई केही गरेन भन्ने आम पाल्पालीको बुझाई छ, तर उहाँ पाल्पाका लागि मात्र योजना आयोगको उपाध्यक्ष भएको होइन, समग्र देशका लागि हो भन्ने कुरा पाल्पालीले बिर्सिएको बताए । 

कवि नरेन्द्रबहादुर श्रेष्ठले उद्घोष गर्नुभएको श्रद्धाञ्जलीसभामा डा. केदारभक्त माथेमा, डा. विणा प्रधान, अनुपमान सैजु र सीता थापाले उनको स्मरण गरेका थिए । उनकी धर्मपत्नी माधुरी सैजुले धन्यवाद ज्ञापन  गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्