Logo
Logo

ओली कुर्सी बचाउन एसपीपी सम्झौता गर्नेतिर जाने स्थिति छ : प्रचण्ड


6.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधीनताका प्रश्न संवेदनशील बन्दै गएको बताएका छन् ।  

आइतबार मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी उद्धत रहेको आरोप समेत लगाए ।

राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै  प्रचण्डले यो गम्भीर चिन्ताको बिषय भएको उल्लेख गरे ।

प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाए । प्रचण्डले भने, ‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ ।’

त्यस्तै उनले सरकारले आफू नेतृत्वको सरकारले गरेको राम्रा काममाथि आक्रमण र नराम्रा कामको रक्षा गर्ने तर्फ अघि बढेको हो की भन्ने आशङ्का समेत पैदा भएको धारणा राखे । प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताए ।  

उनले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको बताए । आफू नेतृत्वको सरकारले गरेका काम र उपलब्धीहरू जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्