Logo
Logo

कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत‚ ७ घाइतेलाई सुर्खेत ल्याइयो


441
Shares

सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका-३ राडूनेटामा भएको जिप दुर्घटनाका मृतक ६ जनाको सनाखत भएको छ भने ७ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइते ७ जनालाई सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए। अन्य घाइतेलाई अस्पतालमा छिटोभन्दा छिटो ल्याउन हेलिकप्टर फेरि पठाइएको जानकारी उनले दिए।

कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले दिएको जानकारीअनुसार जिपमा सवार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन्।

मृतकहरुमा पलाँता गाउँपालिका-५ का पदम वम, छाया शाही, वडा नम्बर ३ की दमन रोकाय, वडा नम्बर ६ की कुशलकला शाही, भगवती रोकाय र गणेश शाही रहेको पुष्टि भएको छ।

घाइतेहरुमा कालीकोट पलाँता-६ बस्ने वर्ष नखुलेको केशव थापा सिकिस्त रहेका छन्। घाइतेमध्ये विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया पनि सिकिस्त रहेका छन्।

वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका जिपचालक धनिराम रावत र पलाता गाउँपालिका-५ का दोलि बिक रआयुशा बिकको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता-३ राडूनेटामा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्