काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरूमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन् ।
त्यस्तै, काउन्सिलले विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको छ । त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभी र विजीटिभी (युट्युब च्यानल) लाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ ।