काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको रिक्त पदको उपनिर्वाचन हुँदै छ । यसअघि नेपाली कांग्रेसले जितेको १ नगरपालिका प्रमुख, २ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रले जितेको २ गाउँपालिका उपाध्यक्ष पदका साथै अन्य ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै २ जिल्ला समन्वय समितिका प्रमुखको पनि उपनिर्वाचन हुँदै छ ।
उपचुनावका लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवार मनोनयन दर्ताका लागि राजनीतिक दलहरूले उम्मेदवार छनोटको प्रक्रिया जारी राखेका छन् ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि विभिन्न दलहरूसँग गठबन्धन कायम गरेका दलहरू यो उपनिर्वाचनमा भने एक्ला एक्लै लड्ने परिस्थिति बनेको छ । यद्यपि सत्तारुढ प्रमुख २ दलले भने केही ठाउँमा गठबन्धनको प्रयास गरी नै राखेका छन् ।
सरकारमा रहेका मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै प्रतिस्पर्धाको तयारीमा छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनको विकल्प खुला राखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिने तयारीमा छ । दलहरूले उपनिर्वाचनलाई आफ्नो शक्ति परीक्षणको रुपमा लिएका छन् ।
निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेदेखि नै आन्तरिक तयारी थालेका दलहरू अहिले उम्मेदवार टुंगो लगाउने चरणमा पुगेका छन् । उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोटदेखि आफ्ना चुनावी कार्यक्रम तय गर्न सुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तहको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ । उसले उम्मेदवार छनोटको प्रक्रिया पनि सँगसँगै अघि बढाएको छ ।
२०७४ र २०७९ सालको निर्वाचनमा कुनै न कुनै दलसँग सहकार्य गर्दै आएको माओवादी केन्द्रले यो उपनिर्वाचनमा पनि सहकार्यको ढोका खुलै राखेको छ । तर कुन दलसँग सहकार्य गर्ने भन्ने टुंगो लगाएको छैन ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक यही उपनिर्वाचनमार्फत् स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । यस्तै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टीलगायतले पनि उपनिर्वाचनमा भाग लिँदैछन्। स्थानीय तह निर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
कस्तो थियो अघिल्लो निर्वाचनको मत परिणाम ?
काठमाडौंका कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतले विजयी भएका थिए ।
दोस्रोमा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत पाएका थिए भने माओवादीका शिवशरण महर्जन ४ हजार ९० र माधव नेपाल नेतृत्वको नेकपा एसका बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत पाएका ल्याएका थिए ।
नेकपा एसको जिल्ला उपाध्यक्ष रहेका बटुकृष्ण, सचिव ध्रुवराज न्यौपाने लगायत ठूलो पंक्ति एमालेमै फर्किसकेको छ । यो मत परिणाम अनुसार एकीकृत समाजवादी र विप्लव माओवादीसमेतको गठबन्धन बने पनि माओवादीलाई जितका लागि ठूलो चुनौति देखिने छ ।
एमालेले कीर्तिपुर मेयरमा डा.सुरेन्द्र मानन्धर र माओवादी केन्द्रले प्रा.डा. शिवशंकर महर्जनलाई उम्मेदवार बनाउँदैछ । कांग्रेसको भने टुंगो लागिसकेको छैन ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकश गच्छददार थारुले ७ हजार ६ सय ५ मत ल्याएर जितेका थिए ।
दोस्रोमा एमालेका शिव नारायण माझी थारुले ६ हजार ९३ पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवार विजय कुमार सरदारले २ हजार ७ सय २७ मत मात्रै ल्याएका थिए । यो पालिकाको उपाध्यक्षमा भने एमालेकी गुणावतीदेवी थारु ६ हजार १ सय २३ मतले विजयी भएकी थिइन् ।
दैलेखको महावु गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै लछुमन गुरुङ २ हजार ९ सय ७९ मत ल्याएर विजयी भएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत ल्याउँदा नेकपा एसका जंगबहादुर शाहीले २ हजार २ सय ६८ मत पाएका थिए । झण्डै एमालेको मतकै हाराहारीमा समाजवादीले भोट काटेकै कारण एमालेले अध्यक्ष पद गुमाएको थियो ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेसका श्याम सुन्दर तामाङ ४ हजार ७ सय ४१ मतले निर्वाचित भएका थिए । एमालेकी मुना शिमाकोटी तामाङले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् । माओवादी र कांग्रेस मिलेर उठेको यो पालिकाको अध्यक्षमा माओवादीका विश्वास कार्की निर्वाचित भएका थिए ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका चन्द्रसिंह कार्की ३ हजार २ सय ६९ मतले विजयी भएका थिए ।
एमालेकी जुनकुमारी फडेराले भने १ हजार ६४ मत मात्रै पाएकी थिइन् । यो पालिकामा माओवादीको उपस्थिति बलियो देखिन्छ । यद्यपि आगामी उम्मेदवारले पनि चुनावलाई प्रभाव पार्नेछ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी मैना जोशी १ हजार ८ सय १० मत ल्याएर निर्वाचित भएकी थिइन् ।
एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६ सय ३७ मत तथा माओवादीका सुरेशबहादुर बोहराले १ हजार २ सय १३ मत ल्याएका थिए ।
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढा ४ हजार ५९ मतले विजयी भएकी थिइन् ।
त्यतिबेला कांग्रेसकी कमलाकुमारी मल्लले २०१० मत पाउँदा एमालेका धर्म घर्तीबुढाले १ हजार ८ सय १२ मत पाएका थिए । सत्तारुढ दुई दल कांग्रेस र एमाले दल मिलेर लडेमा भने माओवादी केन्द्रले यो ठाउँ गुमाउने खतरा उत्तिकै रहन्छ ।
जाजरकोटको नलगाडकी गाउँपालिकामा कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् ।
उनको निकटतम् प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् । कांग्रेसकी सिंहले उपाध्यक्ष जित्दा अध्यक्षमा भने माओवादीका डम्बर बहादुर रावल ५ हजार ५ सय ९९ मतले निर्वाचित भएका थिए ।
अध्यक्षमा कांग्रेसका छबि पन्तले ६ सय ५२ मत मात्रै ल्याएका थिए । उक्त परिणाम अनुसार यो पालिकामा अन्य दलहरुको उपस्थिस्थिति कमजोर रहेको छ ।
यी पदमा आगामी मंसिर १६ गते हुने उपचुनावमा रास्वपासहित विभिन्न २५ दलले भाग लिँदैछन् । ०७९ को संघको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएको नयाँ दल रास्वपाले स्थानीय तहको नतिजा भने हेर्न बाँकी नै छ ।