काठमाडौँ । । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताएका छन् ।
नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिए ।
‘संविधानले गरेको व्यवस्थाअनुसार सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो उपलब्धिमा टेकेर थप समृद्ध र व्यवस्थित व्यवस्थाका लागि हामीले जोडबल गछौँ । अहिलेको व्यवस्थालाई थप कमजोर बनाउने कुरा हामीले सोच्नै सक्दैनौँ’, महामन्त्री थापाले भने, ‘हामी यसलाई थप व्यवस्थित बनाउन चाहन्छौँ । अहिले जहाँ बाध्यकारी भनिएको छ, त्यहाँ मात्रै प्रतिनिधित्वको कुरा गर्ने र बाध्यकारी नभनिएको कुरा पालना नगर्ने प्रवृत्ति छ । त्यसैले संविधान संशोधन गर्दा प्रतिनिधित्वलाई बाध्यकारी बनाउने व्यवस्थाका लागि पार्टीले पहल गर्छ । यसमा दलित सङ्घले सबैसँग छलफल गरेर आफ्नो मत प्रस्तुत गर्न र दबाब बढाउन आवश्यक छ ।’
महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गरे ।