काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गरेका छन् ।
नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेस नै हो कदमजमको कुरा गर्ने, पछि सोहीअनुसारको व्यवस्था संविधानमा पनि ग¥यौँ । त्यसैले संविधानमा भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा हामी प्रस्ट छौँ । तर प्रतिपक्षीहरूले संविधान संशोधन गर्दा यो व्यवस्था विरोधी काम गर्छन् कि भनेर अफवाह फैलाएको सुन्छु, भ्रममा नपर्नुहोला । समानुपातिक प्रतिनिधित्वलाई बलियो बनाउने हो, अहिलेको भन्दा राम्रो व्यवस्था गर्ने हो तर विधिका बारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’
कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताए । उनीहरुले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।
सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताए ।
कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री रुपा विक, केन्द्रीय सदस्यद्वय सुजाता परियार र कमल बुढा, नेपाल महिला सङ्घका सभापति आशा रावत मिश्र, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सििना, दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महते, शम्भुहजारा पासवानलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
विगत ११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । आज सोही समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।