काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गरेका छन् ।
राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।