काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकजना रथी आएको तर दलबलसहित अरू अमेरिकी सैनिक नेपाल आएको भन्ने सत्य नभएको बताएका हुन् ।
बैठकमा मन्त्री राईलाई प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले उक्त प्रश्न गरेका थिए । उनले भने, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एकजना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्योभन्दा अर्को कुरा मलाई जानकारीमा छैन ।’
मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए ।