Logo
Logo

जुवाखालबाटै पैसा बेपत्ता


1.1k
Shares

काठमाडौं । प्रहरीका आँखा जुवा खालमा पर्न थालेका छन् । जुवाडेहरुले आफ्नो पैसा दाबी गर्न नपाउने र बरामद गरेको पैसा सबै राजश्वमा जाने भएपछि त्यसमा त्यतिधेरै मतलब नराख्ने हुँदा प्रहरीको ध्यान जुवाडे पक्राउ गर्ने र छाड्नेमा रहेको छ । गत शनिवार काठमाडौंको बौद्धमा पक्राउ परेका जुवाडेबाट बरामद भएको १०औँ लाख पैसा मध्ये प्रहरीले तीन लाख मात्रै देखाएको बुझिएको छ ।

काठमाडौंको दक्षिण ढोका, माकलबारीमा जुवा खेलिरहेका ११ जना पक्राउ पर्दा ५० लाखभन्दा बढी बरामद गरेको तर, तीन लाख मात्रै देखाएको स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका (माकलबारी) बस्ने ३६ वर्षीय दिपक लामिछानेको घरबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित पक्राउ गरिएको भनिएको छ । पक्राउ परेकाहरूमा हेलम्बु गाउँ पालिकाका जनप्रतिनिधिसमेत रहेको थिए । दिपक लामिछाने, श्रीकाजी तामाङ, कुमार तामाङ, विसाल तामाङ, सोनाम लामा, अबिशेक शर्मा, राजु दोङ, सरोज थापा, सुदिप घोरासईनी, दिनेश लामिछाने, प्रेम लामा पक्राउ परेका थिए ।

उनीहरुबाट बरामद भएको रकम ५० लाखभन्दा बढी भएपनि किन ३ लाख मात्रै देखाइएको भन्ने बारेमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, जुवामा मोरङ प्रहरी पनि उदार देखिएको छ । तिहारको दुई दिन अघि पक्राउ परेका १० जना जुवाडेलाई विनाशर्त सुटुक्क छाडिदिएको थियो । भर्खरै मोरङ प्रहरीको कमाण्ड सम्हालेका एसपी नारायण चिमोरियाले उनीहरूलाई सुटुक्क छाडिदिएका हुन् । ‘तिहार मनाउन हाजिर जमानीमा छाडिएको छ’, मोरङ प्रहरी स्रोतले भन्यो ।

स्रोतका अनुसार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । शुक्रबार राती जुवा, तास खेलिरहेको अवस्थामा नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका– ११ का ६१ वर्षीय राजन कँडेल, विराटनगर– १२ का ४१ वर्षीय टुनटुन शर्मा, विराटनगर–११ का ५७ वर्षीय पशुपति भगत, विराटनगर– १२ का ४७ वर्षीय सुरेन्द्र ठाकुर, विराटनगर– ११ का ५० वर्षीय वीरेन्द्र साह, विराटनगर– ३ का ५५ वर्षीय श्रुव सिग्देल, विराटनगर– ५ का ५५ वर्षीय मनिराज प्रसाईँ, विराटनगर– १२ का ५० वर्षीय बाबुराम कट्टेल, विराटनगर– १२ का ४६ वर्षीय लिला सहनी र विराटनगर–११ का पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ थिए ।

पशुपति भगत लगायतका व्यक्तिहरू सँगको मिलेमतोमा प्रहरीले उनीहरुलाई छाडिएको थियो । पक्राउ परेकाहरूको साथबाट ५ बुक ताससमेत बरामद भएको थियो । एसपी राजन लिम्बूको काज खारेजी गरेर गणमा रहेका एसपी चिमोरिया मोरङ प्रहरी प्रमुख हुन सफल भएपछि उनले पहिलो लटमै जुवाडे छाडेका हुन् । पक्राउ परेका मध्ये अधिकांश व्यापारीहरू समेत रहेकाले उनले सबैलाई सहुलियत दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्