धरान । अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिले आयोजना गरेको ‘प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी’ सम्पन्न भएको छ ।
सुनसरी स्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरानमा आयोजना गरेको कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियो ।
वरिष्ठ सौन्दर्य चिन्तक, मार्क्सवादी विद्वान्, जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गरेका थिए ।
प्रमुख अतिथि ज्ञवालीले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्ने बताए । उनले जनताका यावत जीविकाका समस्यालाई देखाउने, जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने काम प्रगतिवादी साहित्यले गर्नुपर्ने बताए ।
त्यस्तै, जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य, जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका कवितामाथि टिप्पणी गरे ।
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथि प्रा.डा. खेमनाथ दाहाल, अम्बिका शाक्य र सिद्धिकर्ण शर्माले कविता वाचन गरेका थिए । अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल ,राधिका कार्की, टीका मिलन, महेश श्रेष्ठ .दीपक पराजुली ,टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मनि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा शकुल भुसाल ,तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुङ्गाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो ।
अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत मनतव्य राखेका थिए ।