Logo
Logo

सरकारलाई अख्तियारको प्रश्न- कोप-२९ मा जम्बो टोली किन ?


252
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९)मा किन जम्बो टोली गएको भन्दै सरकारसँग त्यसको जवाफ मागेको छ । आयोगले आइतबार कोप–२९ मा सहभागिताको मुख्य जिम्मेवार निकाय वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्दै विभिन्न ५ वटा विषयमा सोधपुछ गरेको हो ।

आयोगले कोप–२९ मा कति जनालाई निमन्त्रणा आएको हो ? कति जना सहभागी हुन गएको हो ? सम्मेलनमा भाग लिनेको भूमिका के हो ? खर्च कसले व्यहोर्ने हो ? र यत्ति ठूलो समूह सम्मेलनमा सहभागी हुनुको औचित्य र उपलब्धि के हो ? भनी सरकारसँग प्रश्न गरेको छ । स्रोतका अनुसार कोप–२९ मा जम्बो टोली सहभागी भएको विषयमा आयोगमा उजुरी परेपछि मन्त्रालसँग जवाफ मागिएको हो ।

वन तथा वातावरण मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु गएको छ ।

मन्त्रालयको टोलीमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सचिव डा. दीपककुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख सहसचिव भुपाल बराल र प्रशासन महाशाखाअन्तर्गतकै कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव शोभाकर रेग्मी सहभागी छन् ।

कोप–२९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति पौडेल ९ सदस्यीय टोलीको नेतृत्व गर्दै गत आइतबार बाकु प्रस्थान गरिसकेका छन् भने उनले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्