Logo
Logo

खोटाङका बराहपोखरीसहित तीन धार्मिक तथा पर्यटकीयस्थलमा मेला


16.6k
Shares

खोटाङ । हरिबोधिनी एकादशीको अवसर पारेर खोटाङका तीनवटा धार्मिक तथा पर्यटकीयस्थलमा धार्मिक एवं सांस्कतिक मेला लागेको छ ।

बराहपोखरी पर्यटकीयस्थल

जिल्लाका बराहपोखरी, रभुँवाघाट र होङ्मापोखरीमा लाग्ने धार्मिक एवं सांस्कतिक मेलामा विशेष गरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री नाच्ने तथा दर्शन गर्नेको भक्तजनको भीड लाग्ने गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको एकसय गन्तव्यमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराह पोखरीमा हरिबोधिनी एकादशीको अवसर पारेर तीन दिनसम्म मेला लाग्ने गरेको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए ।

‘विगत वर्षहरूको तुलनामा यसवर्ष बराह पोखरी मेलामा धामीझाँक्रीको सङ्ख्या बढेको छ । रातभरि चिन्दा बस्ने धामीझाँक्रीका लागि पाल, खानेपानी र बत्तीको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘बराह पोखरीमा विशेष गरी रातको समयमा मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थित गर्न स्वयम्सेवकसमेत परिचालन गरिएको छ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी मेलामा हुन सक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोलीसमेत खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

मेलामा विशेषगरी रातभरी जाग्राम बसेर दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री नाच्ने र बिहानीपख पोखरीमा नुहाएर दर्शन गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ ।

चारैतिर घना जङ्गलले घेरिएको तीनसय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइमा फैलिएको बराह पोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ । समुद्री सतहदेखि करिब एक हजार तीन सय मिटर उचाइमा रहेको पोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघेसङ्क्रान्तिको अवसरमा मेला लाग्ने गरेको छ ।

यहाँ मेला भर्न जिल्लाका दशवटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सोलुखुम्बु, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् । परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर भएको मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराह पोखरी भनिएको किम्वदन्त छ ।

जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो पानी देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।

यस्तै, जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीमा पर्ने पर्यटकीयस्थल होङ्मा पोखरीमा समेत धार्मिक एवं सांस्कृतिक मेला लागेको छ । बराह पोखरी पुगेर फर्किएका धामी तथा उनीहरूका आफन्तले होङ्मा पोखरीमा पूजाआजा गर्ने गरेका छन् ।

यस पोखरीमा लाग्ने मेलाका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा वडा कार्यालय चिसापानीलाई दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिए । ‘होङ्मा पोखरी ऐतिहासिक पोखरी हो । धार्मिक तथा ऐतिहासिक पोखरीको स्तरोन्नति तथा संरक्षणको काम गाउँपालिकाको तर्फबाट गरेका छौँ । स्तरोन्नति गरिएसँगै पछिल्लो समय बाह्य पर्यटकसमेत आउन थालेका छन्’, उनले भने, ‘पोखरीमा हरिबोधिनी एकादशीको अवसर पारेर ठूलो मेला लाग्छ । मेला व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी वडा कार्यालयलाई दिएका छौँ ।’

खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा लाग्ने धार्मिक मेलामा दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, फूल तार्ने तथा मारुनी नाच देखाउने गरिएको छ । हरिबोधिनी एकादशीको अवसर पारेर दूधकोशी नदीस्थित रभुँवाघाटमा हप्ता दिनसम्म मेला लाग्ने गरेको छ ।

यहाँ परापूर्वकालदेखि धार्मिक मेला लाग्दै आएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको व्यापारिक केन्द्रसमेत रहेको रभुँवाघाटबाट छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् उत्पादनको काम सुरु भएको छ । जसले यो डुबानमा पर्न थालेको छ ।

यसैबीच, एक वर्षभरि पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण मानिने हरिबोधिनी एकादशीको अवसर पारेर लाग्ने धार्मिक मेलाका लागि खोटाङका बराह पोखरी, जन्तेढुङ्गा र रावाबेँसी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । बराहपोखरी गाउँपालिकाले हिजो र आज (कात्तिक २६ र २७ गते) तथा रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकाले आज (कात्तिक–२७ गते) एक दिन बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्