काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै छ । यूएईको दुबईमा जारी खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।
आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ ।
त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पराजित हुँदै दोस्रोमै सीमित रहँदै विश्वकप खेल्नबाट वञ्चित हुने छ ।
हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुने छ ।