Logo
Logo

ट्रम्पको पुनरागमनले नेपालमा प्रभाव


डा. दीपेश केसी

504
Shares

वर्तमान विश्वमा डोनाल्ड ट्रम्प, सी चिनफिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी यस्ता नेता हुन् जो सिद्धान्त, नीति र कार्यनीति सबैमा स्पष्ट छन् । यी चारैजना एक्ट होइन, एक्सन देखाउँछन् । लामो संघर्ष र गजबको घटनाक्रमले चारैजनालाई शक्तिमा पु¥याएको छ ।

तर, आफूलाई उदारवादी दाबी गर्नेहरु यी चारैजनालाई कतिपयले नरुचाए पनि यी चारै नेताले आफ्नो देशलाई बलियो मात्र बनाएनन् विश्वमै प्रभाव देखाउन सके । चारजना मध्ये ट्रम्प चार वर्ष सत्ताबाहिर रहे, अब फेरि सत्तामा फर्कदैछन् । चिनियाँ राष्ट्रपति सीले त चीनको संविधान नै परिवर्तन गरी राष्ट्रपतिको कार्यकाल विगतमा दुई पटक मात्र रहेकोमा असिमिति बनाए । पुटिनले पनि त्यही गरे । मोदी त तेस्रोपटक प्रधानमन्त्री बनिसकेका छन् ।

कठोर नीति अवलम्बन गरेर शासन गर्ने स्वभाव भएका पुटिन, सी र मोदीसँगष्सँगै अब विश्व राजनीतिको मञ्चमा ट्रम्प पनि फर्किएका छन् । उनको पुनरागमनलाई सी, पुटिन र मोदीले सुखद क्षणका रुपमा लिएर औपचारिक बधाई सन्देश पनि दिएका छन् ।

युक्रेनसँग युद्धमा होमिएको रुस अमेरिकासँगको चीसो सम्बन्धका बाबजुद पुटिनले ट्रम्पलाई साहसी व्यक्तित्व भनी बधाई दिएका छन् । मोदीको बधाई सन्देश पनि असल मित्र भन्ने शब्दले सजिएको छ । सीले पनि ट्रम्पलाई बधाई दिएका छन् । यो सन्देश आफैले अबको सँसार कतातर्फ जान्छ भन्ने निक्र्यौल गर्न कठिन छैन ।

संसारमा डेमोक्रेसी, स्वतन्त्रता, उदारवाद अपरिहार्य छ । तर, यो शब्दलाई जालझेल र अस्त्रका रुपमा दुरुपयोग समग्र विश्व र त्यसमाथि पनि विपन्न देश र समाजका लागि घातक हुन्छ । त्यस्ता शब्दको सम्मान र उचित सदुपयोग हुनुपर्छ । स्पष्ट वक्ता र यथार्थवादी ट्रम्पले यसको सही सदुपयोग गर्नेमा विश्वास गर्न सकिन्छ । उनको अघिल्लो कार्यकालमा संसार र मानव सभ्यताका लागि खतरनाक बनेका केही नीतिहरू परिमार्जन गरिएर काम गरिएका थिए ।

जसमध्ये सुरक्षित गर्भपतनका नाममा अमेरिकाले विश्वव्यापी रुपमा खर्चिएको रकम रोकिनु पनि एक हो । समलिङ्गी गतिविधिप्रति पनि उनी उदार छैनन् । ट्रम्प आप्रवासीप्रति कठोर छन् । अमेरिकामा गैरकानूनी रुपमा प्रवेश गर्नेहरूलाई फिर्ता पठाउने उनको नीति छ ।

आप्रवासीहरू गैरकानूनी रुपमा अमेरिका पस्न प्रोत्साहित गर्ने विगतको नीतिको पीडित नेपाल पनि हो । नेपालबाट दसौँ लाख मानव तस्करलाई बुझाएर ज्यानमारा मार्गबाट हजारौँ नेपाली अमेरिका पसिरहेका छन् । उनीहरूमध्ये कतिपय बाटोमै मृत्युलोकमा पुग्छन् त कतिपय अमेरिका पसेर कठिन जीवनयापन गरिरहेका छन् । अब त्यस्ता गतिविधि निरुत्साहित हुने आशा गर्न सकिन्छ ।

ट्रम्प निर्वाचित भएलगत्तै तेल र सुनको मूल्यमा गिरावट आयो । यसको मुख्य कारण हो युक्रेन युद्ध रोकिने र मध्यपूर्वमा शान्ति छाउने सम्भावना । ट्रम्पले आफू निर्वाचित भएको केही हप्तामै युक्रेन युद्ध अन्त्य हुने बताएका थिए । उनको टिमका इयन मस्क यो पहलमा सक्रिय भइसके । युक्रेन योजना ल्याएर काम बढिसकेको छ ।

युद्ध अन्त्य भएमा विश्वले फेरि आनन्दको श्वास फेर्नेछ । तेलको मूल्य मात्र नभई खाद्यान्नको पनि मूल्य घट्नेछ । जसबाट विपन्न देश र विपन्न जनताले लाभ लिन सक्नेछन् । युद्धका कारण बढेको सुनको मूल्य पनि घट्नेछ । यसका लागि विश्व आतुर भएर पर्खिरहेको छ ।

ट्रम्प जति कठोर छन् उति नै शान्तिको पक्षमा छन् । अमेरिकाको डेमोक्रयाट जो वाइडेन प्रधानमन्त्री हुँदा रुसले युक्रेनमाथि हमला गर्ने वातावरण बन्यो । ट्रम्पले आफू राष्ट्रपति हुँदो हो त रुसले त्यसो गर्ने थिएन भनेका थिए ।

वाइडेन राष्ट्रपति हुँदा अमेरिकाको भारतसँग पनि सम्बन्ध सहज रहेन । मोदीप्रति अमेरिका अनुदार देखियो । मोदीलाई कट्टर हिन्दूवादी देखाउँदै वाइडेन प्रशासनले कडा नीतिहरु अवलम्बन ग¥यो । अमेरिका र क्यानडामा भारत टुक्राउने उद्देश्यका साथ सक्रिय खालिस्तानीहरु सलबलाए ।

खालिस्तानीहरुले क्यानडामा त हिन्दू मन्दिरमाथि नै आक्रमण गरे । खालिस्तानी विद्रोहीको क्यानडामा हत्याको आरोप लगाइयो भारतीय अधिकारीहरुमाथि । भारतका गृहमन्त्री अमित साह नै तारोमा पारे । क्यानडासँग निकै नजिकको सम्बन्ध रहेकोले यी सबै गतिविधिमा अमेरिकाको भूमिका देखियो ।

अमेरिकी नीतिले भारत रुससँग नजिकियो । काजानमा भएको ब्रिक्स देशको सम्मेलनमा मोदी र सी चिनफिङले पाँच वर्षपछि हात मिलाए । सीमाको तनाव अन्त गर्ने सम्झौता भयो । जतिबेला वाइडेन मोदीप्रति कडा देखिएका थिए त्यतिबेला ट्रम्प मोदीलाई आफ्ना असल मित्र भनिरहेका थिए । उनको प्रशंशा गरिरहेका थिए । यसबाट अब ट्रम्पले भारतप्रति सम्बन्ध फेरि सुधार्ने र प्रगाढ बनाउने नीति लिने देखिन्छ ।

धेरैलाई ट्रम्पले चीनप्रति कडा नीति राख्छन् भन्ने बुझाइ छ । तर, व्यापारिक दिमाग भएका ट्रम्प चीनसँगको अमेरिकाको व्यवसायिक सम्बन्धलाई कमजोर बनाउने पक्षमा छैनन् । उनले विगतमा पनि त्यसो गरेर देखाइसके । उनको समग्रमा एशियासँग सम्बन्ध प्रगाढ बनाउने नीति विगतमा पनि देखिएको छ । उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि हात मिलाएका थिए ट्रम्पले । एशियाको उदय र प्रभावलाई ट्रम्पले स्वीकारको र त्यस अनुसार अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेको उनको विगतको कदम र अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

चीन विश्वको दोस्रो र भारत पाँचौँ ठूलो अर्थतन्त्र भइसकेको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान पनि एसियामै छ । इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर जस्ता आर्थिक शक्ति एसियामै छन् ।

मध्यपूर्वका साउदी अरब, इरान, युएई, कतार जस्ता देश पनि एसियामै छन् । यसकारण ट्रम्पको ध्यान एसियामा जाने देखिन्छ । उनले एसियामा अस्थिरता फैलाउने वाइडेनको जस्तो रणनीति नचालेर आर्थिक सम्बन्ध बलियो बनाएर जाने नीति लिन सक्छन् । यसको असर समग्र दक्षिण एसियामा पनि पर्छ ।

भारतसँग अमेरिकाको सम्बन्ध प्रगाढ रहेर आर्थिक गतिविधि बढेमा नेपालमा त्यसको असर सकारात्मक बन्छ । नेपालको अर्थतन्त्रमा भारतको परिस्थितिले धेरै असर गर्छ । भारुको उतारचढावले यहाँको अर्थतन्त्रमा पनि उतारचढाव नै आउँछ । अर्कोतर्फ, भारत र चीनबीचको सम्बन्धले पनि नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा असर पर्छ । भारतमा उदारवादका नाममा सक्रिय संस्था र व्यक्तिहरुलाई अब अमेरिकी सहयोग नहुन सक्छ । त्यसको असर पनि नेपालमा पर्छ नै ।

जातीय, धार्मिक द्वन्द्व फैलाउन खोज्नेहरूमा सहयोग रोकिएमा परिस्थिति फरक हुनसक्छ । अर्कोतर्फ, कठोर र राष्ट्रवादी धारका ट्रम्पको पुनरागमनले त्यस्ता गतिविधिमा लाग्नेहरूको मनोबल यसै पनि गिराइसकेका छ । आशा छ, नेपालमा पनि उदारवादको अस्त्रबाट व्यक्तिगत र समूहगत लाभ लिन खोज्नेहरू ट्रम्पको कार्यकालभर निरुत्साहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्