कुनै पनि उत्कृष्ट कृतिलाई कुनै पुरस्कारले नाप्न सक्दैन । त्यो त पाठकको मनले नाप्ने कुरा हो । तर, केही पुरस्कार यस्ता हुन्छन्, जसले विश्वलाई प्रतिभाका विभिन्न पक्ष अझै स्ष्टसँग देखाइदिन्छ ।
यसपाली दक्षिण कोरियामा जन्मेकी हान काङले साहित्यमा नोबेल पुरस्कार जितिन् । नोबेल पुरस्कार हात पार्ने उनी पहिलो एसियाली महिला हुन् र अहिलेसम्मकै १८औं महिला सर्जक पनि ।
नोबेल पुरस्कार विश्वमा सबैभन्दा सम्मानित पुरस्कार मानिन्छ । सन् २०१६ मा नै ‘द म्यान बुकर इन्टरनेशनल प्राइज’ प्राप्त गरेको उपन्यास ‘द भेजिटेरियन’ केही वर्षअगाडि देखि नै चर्चामा आइसकेको पुस्तक हो । यसको अनुवादक र प्रकाशक बेलायतकी डेब्रा स्मिथ हुन् । यो पुस्तकसँगै उनी पनि निक्कै चर्चित भइन् र उनको ‘टिल्टेड एक्सिस प्रेस’ पनि ।
टिल्टेड प्रेसबाटै मुना गुरुङले अनुवाद गरिदिएको मेरो ‘रात’ कविता संग्रह २०१९मा अंग्रेजी भाषामा ‘नाइट’को नाममा प्रकाशित भएकोले डेब्रालाई प्रत्यक्ष नचिने पनि उनको नाम र कामबाट परिचित भएकी थिएँ । उनीप्रतिको कृतज्ञताका कारण पनि अहिले हृदयदेखि नै बधाइ भन्न चाहन्छु ।
हान काङलाई त मैले पुस्तकबाट मात्र चिनेँ । सुरुमा ‘द भेजिटेरियन’ शीर्षकले नै मलाई आकर्षित बनाएको थियो– आफै तीन दशकदेखि शाकाहारी भएकोले पनि होला । टिल्टेड प्रेसले मेरो कविता छापेको खबरसँगै मुना गुरुङले ज्यादै उत्साह र प्रेमका साथ ‘द भेजेटेरियन’ त्यही बेला उपहार दिँदै सुनाएकी थिइन् डेब्राले गरेका राम्रा कामबारे ।
‘द भेजेटेरियन’का तीनै भागहरू पढ्न मैले धेरै समय लगाएँ । मलाई गाह्रो भयो पढिसिद्ध्याउन । म शाकाहारी हुँदा स्वेच्छाले भएकी थिएँ । कसैबाट मेरो निर्णयका बारे नकारात्मक प्रतिक्रिया वा व्यवहार मैले कहिल्यै भोग्नु परेको छैन ।
हान काङको उपन्यासकी मुल पात्र ‘योङ ह्ये’ ले भने आफ्नै परिवारबाट, आफ्नै बाबु र लोग्नेको मात्र नभएर लोग्नेका अफिसका मान्छेको समेत तिरस्कार र दुव्र्यवहार भोग्छिन्, एउटा अपराधीले जस्तो । कुनै अमानवलाई जस्तो व्यवहार गर्छन्, कोचेरै मासु खुवाउन खोज्छन् ।
उनीलाई सबैले मानसिक रोगीकै रुपमा हेर्न थाले…जति पढ्दै गएँ, उति नै पढ्न गाह्रो हुन थाल्यो मलाई । उनीप्रति दुनियाँको व्यवहार असह्य हुन थाल्यो । मैले पढ्नै सकिनँ ।
यो संसारका कतिपय ठाउँमा मासु नखाँदा पनि विचित्रको कथा बन्दो रहेछ । मानसिक यातनासमेत भोग्नुपर्दो रहेछ । यो एउटा आख्यान मात्रै भएपनि, मानिसका व्यक्तिगत छनोट, त्यो पनि पृथ्वीकै भलाइ हुने उत्तम जीवनशैलीकै छनौट पनि कति गाह्रो हुन सक्दो रहेछ भन्ने वास्तविकताले मनलाई चिमोटिरह्यो ।
हान काङले आफ्नो उपन्यासमा नयाँ प्रयोग गरेकी छिन् । अचम्मको स्वैरकल्पना छ उनको उपन्यासमा । उपन्यासकी मूलपात्रको शाकाहारीता केवल जीवनशैलीमा सीमित छैन । आफ्नै शरीरमा बोट बिरुवा उम्रेको भान हुन्छ उसलाई ।
आफ्नो योनीबाट पनि रुख निस्केको कल्पना गर्छे । आफू सिंगै नै बोट बिरुवाकै आफन्त भएको कल्पना गर्छे । यही कुराले उसलाई मानसिक रोग लागेको भनी अस्पतालमा राखि दिन्छन् । आफ्नै भिनाजुलाई उसको जीऊमा खेल्ने मौका दिन्छे । कथाको प्रसंग यसरी बढ्दै जान्छ कि जीउ नै सिरिङ्ग बनाउँछ ।
कथाको पृष्ठभूमिमा हाम्रो नजिकैको एसियाली समाज भएकाले मात्र पनि यस्तो भएको होइन होला । पाठकलाई यति चर्को अनुभूति गराउन सक्नु त लेखक र अनुवादकको सफलता नै हो ।
हान काङको लेखनशीप र शैली ह्यूमन एक्ट्स्, द ह्वाइट बूक जस्ता अन्य पुस्तकमा पनि त्यत्तिकै राम्रोसँग प्रतिबिम्बित होला । र त विश्वका अरु धेरै उत्कृष्ट लेखकहरुलाई नाघेर उनले नोबेल पुरस्कार जित्न पुगिन् । जीवनका हरेक पक्षलाई पनि यति सुक्ष्म किसिमले केलाउने खुबी र धैर्य चानचुने कुरा होइन ।
उनी सुरुमा कविता लेख्थिन् रे । सम्भवत उनको काव्यचेत उनका हरेक आख्यानमा झल्केको छ । उनको पारवारिक माहौल पनि साहित्य र कलामै रङ्गिएको रहेछ । बाबु पनि नाम चलेको उपन्यासकार नै रहेछन् । साहित्य सृजनाका निम्ति सानैबाट वातावरण पाएकी रहिछन् हान काङले ।
लेखनमा अझैसम्म पनि पुरुषको तुलनामा महिला पछाडि नै परेको मानिन्छ । यद्यपि, उत्कृष्ट महिला लेखकहरू सयौँ वर्ष अगाडिदेखि नै नभएका होइनन् ।
झट्ट सम्झनामा आउने एउटा पुस्तक त नौ दशक अगाडि सन् १९३१ मा अमेरिकी पर्ल बकले लेखेको ‘द गूड अर्थ’ नै हो । त्यो बेलाको चीनको अनिकालको सूक्ष्म वर्णनको माध्यमबाट मानिसको जीवनका अनेक पक्षलाई उजागर गरिदिएकी थिइन् ।
पुलिट्जर प्राइजपछि सन् १९३८ मा नोबेल पुरस्कारसमेत जितिन् । तर, नोबेल पुरस्कारको यति लामो इतिहासमा १८औं महिला विजेताको नाम बल्ल देखियो । अझ एसियाली महिलाको हिसाबले त उनी नै पहिलो हुन् । खुसी लाग्यो । तर, साथै उही पुरानो प्रश्न दोहोरियो– किन अझै महिलाहरू पुरुष सरह अगाडि आउन नसकेका होलान् ?
हाम्रो देशकै कुरा गर्दा त झनै बेहाल छ । उत्तर दक्षिणका छिमेकीले मात्र होइन, धेरै एसियाली लेखकले नोबेल पुरस्कार पाइसक्दा हामी भने कहाँ छौँ, कहाँ !
हान काङका पुस्तकहरूले शारिरीक र मानसिक हिंसाको सर्वव्यापकतालाई प्रकट गर्छन्, प्रकृति र मानवताको सम्बन्ध देखाउँछन्, हिंसालाई बुझ्न र यसको प्रभावबाट बच्नसमेत सचेत गराउँछन् ।
उनका पुस्तकका पात्रहरुले प्रायः उपेक्षित वर्गको प्रतिनिधित्व गर्छन् । बोल्न नसक्नेहरूको आवाज सुन्न प्रेरित गर्ने उनका कृतिले जीवनका असहजता र अव्यक्त कमजोर परिस्थितिहरूलाई बाहिर ल्याइदिन्छन् । मानव जीवनको कोमलता, नाजुकता उनको लेखनको प्रमुख पक्ष हो । उनका कृतिमा ऐतिहासिक पीडासँग मानिसले गरेको सामना देखाइएको हुन्छ र शब्दमात्र होइन मौनताको शक्ति पनि देखिन्छ ।
पाठकलाई भावनात्मक संसारसँगको गहिरो सम्बन्ध स्थापित गर्न प्रेरित गरेको हुन्छ उनको लेखनले । कठिन विषयमा लेख्न सक्ने उनको शक्तिले नै यति ठूलो पुरस्कार मिलेको होला । उनले मानवीय नैतिकताको बारेमा गहिरो प्रश्नहरू उठाइदिएकी छिन् । पाखण्डलाई नङ्ग्याइदिएकी छिन् । त्यस्तै पहिचानको जटिलतालाई उजागर गर्ने काम गरेकी छिन् ।
नोबेल पुरस्कारले ५३ वर्षकी हान काङलाई अझै प्रसिद्ध लेखक बनाइदिएको छ, जो कवितात्मक भाषामा मानव पीडाका एकएक अंशलाई देखाई दिएर मानिसलाई अन्यायपूर्ण नियमहरुको चुनौतीसँग सामना गर्न सिकाइरहेकी छिन् । यसैले पनि उनलाई बिर्सेर अरु विषयमा जान मन भएन । अब त कयौं भाषामा अनुवाद पनि भइसकेका होलान् कान याङको ‘द भेजेटेरियन’ ।