बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि प्रदर्शन जारी राखेको छ ।
पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन रोकेको छैन ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा सर्वोच्चमा दर्ता गराएका छन् ।
निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ । उक्त निवेदनमा सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ।
कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरिदिएको थियो । त्यसपछि सो मुद्दा दर्ता भएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देहीमा छन् । त्यहाँको बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई पोखराबाट रुपन्देहीको भैरहवा पुर्याइएको हो । त्यहाँ जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि उनीसँग बयान लिने क्रम जारी छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमै रहेका बेला उनलाई भैरहवा लगिएको हो। कास्कीमा भने उनको बयान लिइसकिएको छ ।