‘पूर्ण बहादुरको सारंगी’ विजय बराल र प्रकाश सपुत अभिनीत चलचित्रको लोकप्रियता बढेको छ । उक्त चलचित्रमा विजय र प्रकाशसहित अभिनेत्री अञ्जना बराइली लगायत रहेका छन् । अञ्जना बराइली, मुकुल भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय बेजोड छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मले सारंगी बजाएर जीविकोपार्जन गर्ने परिवारको कथालाई प्रस्तुत गरेको छ । फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसकेका छन् बराल भने आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन् । उनले अधिकांश सहायक भूमिका रेका छन् । सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुले । उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र मौलिक कथामा आधारित छ । यसले नेपाली समाजको २०३० देखि २०६० को दशकको सजीव चित्रणलाई चलचित्रमा उतार्नुका साथै मानव समाजमा रहेको प्रेम, त्याग र परस्पर सम्बन्धको गहिराई, महत्त्वलाई अत्यन्तै संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ ।
नेपाली माटोको बास्ना भएको ‘पूर्ण बहादुरको सारंगी’ लोकप्रियता चलचित्र बनेको छ । यो फिल्म गुजाराका लागि सारंगी रेट्ने गन्धर्वको वरिपरि घुमेको छ । फिल्मले गन्धर्वको जीवनसँगै सामाजिक समस्या खोल्नुको साथै महिलालाई होच्याउने काम समेत गरेको देखिन्छ ।
यो चलचित्र हेर्दा हामीलाई त्यसबेलाको परिबेशमा लैजान्छ । जब गन्दर्वहरू गीत गाउँदै भारतबाट फर्केका लाहुरेहरू माझ दाइले सोध्लीन नी, खोइ भाई भन्लान ….,’ गीतहरू तानसेन, पर्वत, गुल्मी, पोखरा बागलुङ, नुवाकोट र पूर्वतिर समेत गाउँथे । तानसेन बसपार्क क्षेत्रमा त गन्धर्व टोल थियो । समुदाय थियो ।
चलचित्रमा देखाइएका घर, सिल्भरका भाडा, दाउराको चुलो, गाउँलेहरूले बोल्ने भाषा÷लवज तत्कालीन समयमा गन्धर्वले बोल्ने, मतवाली भनेर खाने आदि को सजीव चित्रण छ ।
सहर जाँदा बसमा चढेको दृश्य, हर्नको आवाज, ठाउँ, बसको मोडेल समेत तत्कालीन अवस्थाको छ । ढेब्रीमा पढ्ने, अंखोरामा घटघट पानी पिउने । बिरामी हुँदा डोकोमा अस्पताल लैजाने आदि कुराले त्यति बेलाको समय कस्तो थियो भन्ने चित्रण गरेको छ ।
स्कुलमा राष्ट्रिय गानमा लाइन लगाएर गाउने २०३९ सालमा पञ्च्यात र २०४७ सालमा पुरानो रेडियोबाट व्यवस्था परिवर्तनको कुरा सुन्ने र २०६२ मा गणतन्त्र आउँदा देखाइएको दृश्यले तत्कालीन अवस्थाको झल्को दिन्छ ।
चलचित्र ’पूर्ण बहादुरको सारंगी’ ले गन्धर्व समुदाय केवल एक कथा मात्र नभई, समाजका विभिन्न वास्तविक र गहिरो जरा गाडिएका वर्गीय विभाजनका पीडालाई मर्मस्पर्शी रूपमा झल्काएको अनुभूत गरेको छ ।
आफ्ना सङ्गीत र सांस्कृतिक परम्परालाई जीवनको साधन बनाउने गन्धर्व समुदाय यस चलचित्रको केन्द्रबिन्दु हो । निर्देशक सरोज पौडेलले चलचित्रलाई एकदमै सजीव र मार्मिक शैलीमा प्रस्तुत गरेका छन् ।
चलचित्रमा ‘सारङ्गी’ केवल एउटा बाध्य वादन मात्र नभई उनको जीवनको सहारा, अभिव्यक्ति र अस्तित्वको साधनको रुपमा देखाइएको छ । जब उनी सारङ्गी बजाउँछन् दर्शकलाई उनको पीडामा साथ दिन बाध्य बनाउँछ । सारंगी पनि बेच्नु पर्ने अवस्था आउँदा भाव विह्वल हुने अवस्था चलचित्रमा देखाइएको छ ।
यस चलचित्रलाई कतिपयले भने आँसुको व्यापार भनेर सामाजिक सञ्जालमा आलोचना गर्ने गरेका छन् । चलचित्रको विषयवस्तु मौलिक भएपनि महिलाको भूमिकालाई होच्याउने काम गरिएको छ ।
बिहेपछि स्वास्नी पोइला जानुपर्ने बाध्यता के कारणले पर्याे र पोइला गएपछि उनको भूमिकाबारेमा चलचित्र मौन छ । जबकि छोरालाई डाक्टर बनाउने चाहाना उनकी आमाको थियो । छोरालाई डाक्टर बनाउन बुबाले जति दुख त्यो भन्दा धेरै दुख आमाले गरेको उनलाई चलचित्रमा स्थापित गर्न नसक्नु चलचित्रको कमजोरी हो ।
अर्कोतर्फ एउटा महिलाको घरपरिवारमा कस्तो भूमिका हुन्छ भन्ने कुरालाई चलचित्रले समेट्न सकेको छैन । श्रीमती पोइला गएको कुराले चलचित्रमा महिलालाई होच्याउने काम गरेको देखिन्छ ।