काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले आफ्नो पार्टीलार्ई विपरीतहरूको एकत्वको रुपमा सैद्धान्तिक व्याख्या गर्ने गर्छन् । तर, व्यवहारमा भने फरक मत राख्नेविरुद्ध निकै कठोर रुपमा प्रस्तुत हुँदै आएको दृष्टान्त छ ।
अधिकांश कम्युनिष्ट घटकहरूमा नेतृत्वको केन्द्रीकरण पनि गरिएको छ । सम्पूर्ण प्राधिकार मूल नेतृत्वमा निहित गर्ने प्रचलन विगतदेखि नै कतिपय कम्युनिष्ट पार्टीले अपनाउँदै आएका छन् ।
एकपदीय प्रणाली अनुरुपको एकल नेतृत्वमा लामो समयसम्म सञ्चालित भएका कम्युनिष्ट पार्टीहरू पछिल्लो समय रूपान्तरित हुँदै बहुपदीय प्रणाली अवलम्बन गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयनसमेत गर्न थालेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा त्यसको पछिल्लो अभ्यास एमालेले जनताको बहुदलीय जनबाद(जबज) नामक राजनीतिक कार्यक्रम अंगीकार गरेरै पार्टी जीवनमा प्रतिस्पर्धामार्फत श्रेष्ठताको नीति लागू गर्दै आइरहेको छ । यद्यपि, अहिले एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीले एकाधिकार कायमै राखेका छन् । पार्टीमा अलग धार र नेतृत्वको विरुद्धमा उभिएका नेताहरूलाई उनले प्रतिशोध साँध्दै आएका छन् ।
दशौं महाधिवेशनमा एमाले अध्यक्ष ओलीको सर्वसम्मत बन्ने मोहमा तगारो बनेर उम्मेदवारी दिएपछि भीम रावल किनाराकृत भएका छन् । अहिले उनी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् ।
त्यसैगरी, माओवादीमा पनि शान्तिप्रक्रियाको सुरुवातपछि पार्टीलाई बहुपदीय प्रणालीमा लगिए पनि पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकाधिकार आजपर्यन्त कायमै छ ।
दश वर्षे जनयुद्धमा कायम गरिएको केन्द्रीकरण अहिले पनि प्रचण्डले आफैँमा निहित गरेका छन् । युद्धकलामा सर्वोच्च कमान्डरको हैसियतमा रहेका उनी अहिलेसम्म पनि पार्टीमा सोही एकाधिकार कायम गर्न प्रयत्नशील छन् । तथापि, पछिल्लो समय उपमहासचिव जनार्दन शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावले भने प्रचण्डको पार्टीमा कायम रहेको एकल आधिपत्यमा चुनौती थपिएको छ ।
अब प्रचण्डबाट पार्टी नचल्ने निष्कर्षसहित शर्माले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने लिखित प्रस्ताव पेस गरेपछि प्रचण्ड चिन्तित छन् । सो प्रस्तावको विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल गरिने बताइए पनि त्रसित भएका प्रचण्डले त्यसपछि केन्द्रीय कमिटी बैठकसमेत टार्दै गएका छन् । दसैं तिहार लगत्तै बस्ने भनिएको केन्द्रीय समिति बैठक पुसमा पु¥याइएको छ ।
उपमहासचिव शर्माले नेतृत्व परिवर्तनका लागि तीन विकल्पबारे सुझाउँदै नेतृत्व हस्तान्तरण, तेस्रो पुस्तामा पुस्तान्तरण र महाधिवेशनमार्फत लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गुर्नपर्ने लिखित प्रस्ताव नै पेस गरेका छन् । यो नै नेता होइन, पार्टी जोगाउने उपाय हो ।
माओवादी अध्यक्ष प्रचण्ड जस्तै नेपालका अन्य कम्युनिष्ट घटकहरूमा पनि आजीवन नेतृत्व मोह कायमै रहेर ससाना कोटरीको नेता बन्ने प्रवृत्ति विद्यमान छ । सैद्धान्तिक विमति राखेर विभाजित हुने तर व्यावहारिक रुपमा पुष्टि गर्न नसकेरै सानो दलकै नेतृत्वमा रमाउने मोह नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको प्रवृत्ति देखिएको छ ।
मोहन विक्रम सिंहको नेकपा(मसाल),सिपी मैनालीको नेकपा(माले), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका ससाना वाम घटकहरू मेरो गोरुको बाह्रै टक्का भन्दै …तको न्यानोमा रमाएका छन् ।
नेपालका समकालीन पार्टीभन्दा भिन्न पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा उदय भएको माओवादीमा अध्यक्ष प्रचण्डसँग एउटै पार्टीमा रहेर उनीविरुद्ध कदम चालेका नेताहरू उनीसँगै नरहेको इतिहास साक्षी छ ।
जनार्दनको हविगत पनि विगतका अन्य नेताहरूको जस्तै हुने हो कि भन्ने आशंका पनि माओवादीको आन्तरिक राजनीतिमा रुची राख्नेहरू बीच उत्पन्न भएको छ ।
माओवादीमा ओलीप्रवृत्ति
नेकपा एमालेमा जस्तै माओवादीमा पनि माथि उल्लेख गरिएजस्तै विपरीतहरूको एकत्वका रुपमा फरक मतलाई सम्मान गर्दै त्यसको स्वामित्व लिएर नेतृत्वले पार्टी सञ्चालन गर्नुपर्नेमा फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति व्याप्त छ ।
झनै, माओवादीमा हालसम्मै प्रचण्डविरुद्ध फरक मत राख्ने नेताहरूलाई उनले निस्तेज गर्दै आएका छन् । पछिल्लो जनार्दनको यस कार्यलाई पनि प्रचण्डले सोही रणनीति अपनाउने र त्यो तय गरिसकेको माओवादीका विभिन्न स्रोतहरू बताउँछन् ।
तत्कालीन नेकपा(मशाल)को नेतृत्वमा रहँदा पनि प्रचण्डले वरिष्ठ नेता वाचस्पति देवकोटालाई पार्टीमा स्थान नदिएरै अपमानजनक ढंगले बाहिरिन बाध्य पारेका थिए । प्रचण्डले पार्टीमा उपेक्षा गरेर बस्नै नसकिने स्थिति पैदा गरेपछि उनी एमालेमा जान बाध्य भएका थिए ।
आफ्नो आलोचना सहन नसक्ने प्रचण्डको प्रवृत्ति हो । जनयुद्धकालमा उनलाई माओवादीमा विचारक भन्दा चतुर खेलाडीका रुपमा चित्रित गरिन्थ्यो । यद्यपि, त्यो प्रवृत्ति अहिले पनि उनमा विद्यमान छ । पार्टीमा फरक समूहका रुपमा रहेका मोहन वैद्य र बाबुराम भट्टराईको कार्यदिशा अनुरुप उनले आफूलाई पालैपालो हिँडाएका थिए ।
जयुद्धकालमा वैद्यको विचार अनुरूप हिँडेका प्रचण्ड शान्तिपूर्ण राजनीतिक अवतरण भने बाबुरामको मार्गदर्शन अनुरूप गरेका हुन् । यी दुबै माओवादीमा फरक विचार समूहको नेतृत्व गर्दै आएका नेताहरू थिए । तर अहिले यी दुवै विचारकहरू माओवादीमा प्रचण्डसँग छैनन् ।
प्रचण्डलाई नजिकदेखि चिनेकाहरूले आफ्ना विरोधीलाई पार्टीमा देख्नै नसक्ने उनको पुरानै प्रवृत्ति हालसम्मै कायमै रहेको बताउँछन् ।
उनको यही स्वभावले पनि जनयुद्धकालमा केही नेताहरूले जीवनसमेत गुमाउनु परेको बताइन्छ । माओवादीमा ‘आलोक’ उपनामले परिचित काभ्रेका यानप्रसाद गौतममा अत्यधिक क्षमता रहेकाले प्रचण्डले उनलाई आफ्नो प्रतिस्पर्धी ठानेर अनेकौँ लाञ्छना लगाएर कारबाही गरेको बताइन्छ ।
पार्टीको आन्तरिक कारबाहीमै रहेको बेलामा उनको तत्कालीन शाही सेनाको सैन्य आक्रमणमा परेर रोल्पामा निधन भएको माओवादी नेताहरू बताउँछन् । उनको मृत्युलाई कतिपयले रहस्यमय परिघटनाका रुपमा समेत औँल्याउँछन् ।
उनको निधनपछि प्रचण्ड नेतृत्वको माओवादीले सहिदको रुपमा समेत स्वीकार गरेको छैन । माओवादीबाटै विभाजित मोहन वैद्य नेतृत्वको दलले भने आलोकलाई सहिदको उपमा दिएको छ ।
जनयुद्धकै समयमा प्रचण्डले आफ्नो पक्षधर रहेका नेताहरूलाई पनि समयक्रममै अनकौं लाञ्छना लगाएर पार्टी छाड्न बाध्य पारेका नेताहरू बग्रेल्ती छन् ।
माओवादीकै उच्च तहका नेता रहेका रवीन्द्र श्रेष्ठलाई युद्धरत माओवादीभित्र प्रचण्डको उत्तराधिकारीका रुपमा पनि चित्रण गरिन्थ्यो । तर, समयक्रममा उनलाई पनि प्रचण्डले नै पार्टी छाड्न बाध्य गराएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आउनु अगावै पार्टी छाडेका श्रेष्ठ केही समयपछि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेर मन्त्रीसमेत भएका उनी अहिले भने राजनीतिक रुपमा गुमनाम छन् ।
निकट हुँदा हौसाएर स्थापित गर्ने र आलोचना गर्दा बाहिरिन बाध्य पार्ने प्रचण्डको प्रवृत्ति हो । अर्का प्रचण्डको कोपभाजनमा परेर माओवादी छाडन् बाध्य भएका नेता हु्न्, मणि थापा ।
उनी माओवादीको सांस्कृतिक फाँटमा रहेर काम गर्दै आएका थिए । उनी अर्का नेता बाबुराम भट्टराईप्रति पक्षधरता देखाएकाले प्रचण्डको उपेक्षा र पेलान सहन नसकेर बाहिरिएका थिए ।
माओवादी छाडेको लामो समयपछि पुनःप्रचण्ड नेतृत्वको दलमा जोडिएका थिए । त्यसको केही समयपछि नै प्रचण्डले एमालेसँग एकता गरेपछि नेकपामा पुगेका उनी सर्वोच्च अदालतले दुवै पार्टीलाई पूर्ववत् अवस्थामा पु¥याइदिएपछि एमालेमै रहेका थिए ।
नेकपा विभाजनपछि एमालेमा रहेका उनलाई एमालेले सबै जिम्मेवारीबाट पदमुक्त गरेको छ । यद्यपि, थापाले भने आफूले नै राजीनामा दिएको बताउँदै आएका छन् ।
अहिले उनी राजनीतिक रुपमा दलविहीन अवस्थामा पुगेका छन् । माओवादी घटकमै समाहित हुने हेतुले छलफल थालेका उनी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ ।
शान्ति प्रक्रिया यता पनि प्रचण्डसँगै रहेर राजनीतिक रुपमा फरक मत राख्ने अधिकांश नेताहरू पार्टीबाट बाहिरिएका छन् । युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको चुनवाङ बैठकका सूत्रधार बाबुरामदेखि मोहन वैद्य हुँदै पछिल्लो समय रामबहादुर थापासमेत उनीबाट अलग भइसकेका छन् ।
पार्टीमा आफ्नो प्रतिस्पर्धीलाई विभाजित गराएर कमजोर बनाउँदै पुनः पार्टीमा भित्रिन बाध्य पार्ने प्रचण्डले शान्ति प्रक्रियापछि यो अर्को नयाँ रणनीति तय गरेका छन् ।
अहिले यीमध्ये विप्लवसहित बाबुरामको दलबाट विभाजित केही नेताहरू पुनः प्रचण्डको दलमा समाहित हुन आतुर रहे पनि आफ्नै पार्टीको आन्तरिक किचलोले तिनीहरूलाई भित्र्याउन सकेका छैनन् ।