Logo
Logo

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर


252
Shares

नयाँदिल्ली । भारतको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताउनु भएको छ । उहाँका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने तिन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताएका छन् ।

गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ‘हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्