जङ्गबहादुरका प्रशस्तै छोरीहरुमध्ये एक जना थिइन्, डम्बरकुमारी । उनले इतिहासमा नाम र बदनाम दुवै कमाइन् । भारतमा रहँदासम्म उनले जुन पेशा अपनाएकी थिइन्, त्यसप्रति उनका बुबा तत्कालिन श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुर पटक्कै खुसी थिएनन् । उनलाई भारतबाट नेपाल फर्काउन जङ्गबहादुरले धेरै प्रयास गरेका थिए, तर उनको जीवनकालमा यो प्रयास सफल हुन सकेन । डम्बरकुमारीप्रति जङ्गबहादुरको बेखुसीको कारण थियो, उनले अपनाएको पेशा । उनी यौनब्यवसाय सञ्चालनका लागि त्यहाँ कोठी नै खोलेर बसेकी थिइन् ।
पछि जङ्गबहादुरकै आदेशमा उनको कोठीलाई बल प्रयोग गरेर बन्द गराई उनलाई नेपाल फर्काउने काम गरियो । तर उनी फर्कदा नेपालको सरहद टेक्दानटेक्दै जङ्गबहादुरको शिकारयात्राकै क्रममा देहान्त भइसकेको थियो ।
नेपाल आउँदा भारतबाट उनले कपडा बुनाईसम्बन्धी सीप पनि सिकेर आएकी थिइन् । त्यसैलाई उनले काठमाडौंमा सानोतिनो उद्योगको रुप दिइन् । उनले सुरु गरेको खास्टो अहिले पनि ‘डम्बरकुमारीको खास्टो’को नामले चिनिन्छ । दशरथ चन्दले आफ्नी प्रेमिका जुलियाले दिएको त्यहीँ डम्बरकुमारीको खास्टो ओढेर गोली थापी शहादत प्राप्त गरेका थिए ।
राणाशासनबारे विज्ञ इतिहासकार पुरुषोत्तमशम्शेर जबराले डम्बरकुमारीलाई आमा पत्ता लाग्न नसकेको जङ्गबहादुरकी छोरी भनी ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ (२०६५ः१९८)मा उल्लेख गरेका छन् । तर डम्बरकुमारीको आमा मात्रै होइन, उनका भाई र दिदीबहिनीको नाम पनि पत्ता लागेको छ । यसबारे क्रमैसँग उल्लेख गरिनेछ ।
बनारसमा कोठी सञ्चालन
जबरा (२०६५ः१९८) अनुसार त्यसबेला शक्तिशाली शासकका रुपमा जंगबहादुर नेपालमा शासन चलाइरहेका थिए । त्यसैबेला डम्बरकुमारी भने बनारसको ‘दालकि मण्डी’मा कोठी सञ्चालन गरेर बसिरहेकी थिइन् । आफ्नी छोरीले आफ्नो इज्जत फालिरहेको महसुस गरेका जङ्गबहादुरले आफ्ना कान्छा भाई पूर्वी कमाण्डिङ जनरल धीरशमशेरलाई कुनै पनि उपाय अपनाएर डम्बरकुमारीलाई काठमाडौं लिएर आउने आदेश दिएका थिए । तर धीरशमशेर आफ्नी भतिजीलाई उनले अपनाइरहेको ब्यवसायबाट छुटाएर काठमाडौं लिएर आउन असफल भए ।
धीरशमशेर असफल भएपछि जङ्गबहादुरले तत्कालिन राजगुरु बामदेव पण्डितलाई यसको जिम्मेवारी सुम्पिए । ती राजगुरुले पनि सहज रुपमा डम्बरकुमारीलाई बनारसबाट काठमाडौं लिएर आउन सकेनन् । तर जङ्गबहादुरको कडा आदेश पालनाप्रति राजगुरु नतमस्तक थिए ।
ब्यक्तिगत रुपमा अनेक उपाय अपनाउँदा पनि केही नलागेपछि ती पण्डितले बनारसका पुलिस अधिकारीहरुसँग कुरा मिलाई समन्वय गरी सहयोग लिई डम्बरकुमारी जहाँ बस्थिन् त्यो कोठीको झ्यालढोका सबै थुन्ने काम गरिदिए । बाहिरबाटै किला ठोकी भएभरको झ्यालढोका थुनिदिँदा डम्बरकुमारी नजरबन्दमा परेजस्तै भइन् । त्यसपछि बल्ल उनी कायल हुन पुगिन् र त्यहाँ कैदीजस्तै भएर बस्नुभन्दा नेपाल फर्कनुनै उत्तम सम्झेर राजगुरु बामदेव पण्डितका साथ उनी नेपाल फर्किएकी थिइन् । तर उनीहरु नेपालको सरहदभित्र आइपुग्नु एक दिनअघि नै पत्थरघट्टामा जङ्गबहादुरको निधन भएको थियो । जङ्गबहादुरको वि.सं. १९३३ फागुन १६ गते देहान्त भएको हो ।
त्यसबेला डम्बरकुमारीले आफ्नो तर्जुमाअनुसारले छाप्न लगाएको एक कपडा र कपडा छाप्ने सिप पनि बोकेर आएकी थिइन् । प्रायः खास्टोको रुपमा प्रयोग हुने यो कपडा अहिले पनि ‘डम्बरकुमारीको खास्टो’को नामले चिनिन्छ ।
डम्बरकुमारीलाई अनेक उपाय अपनाएर बनारसबाट लिएर आउने राजगुरु बामदेव पण्डित जङ्गबहादुरको शासनको जग बसेपछि दरबारमा राजपुरोहित्याईँ पाएका पुरोहितका सन्तान हुन् । भण्डारखाल पर्वको समयमा आफूलाई महत्त्वपूर्ण सूचना दिएर सहयोग गरेकोमा पुरस्कारस्वरुप विजयराज पाण्डेलाई जङ्गबहादुरले दरबारमा राजगुरु बनाएका थिए ।
पछि विजयराजका दाजु तीर्थराज र उनका सन्तानले दरबारको राजगुरुको जिम्मेवारी पाए । नेपालमा राजतन्त्र उन्मुलन नहुँदासम्म उनै पाण्डेखलकले दरबारको राजपुरोहित्याईँ चलाए । अन्तिम राजगुरु जनार्दनराज पाण्डे हुन् ।
बिजयराज पाण्डेका काकाका छोरा तीर्थराजका कान्छा छोरा हुन्, जङ्गबहादुरको आदेशअनुसार डम्बरकुमारीलाई बनारसबाट नेपाल ल्याउन सफल बामदेव पण्डित । उनले आफ्ना दाजु अमरराजपछि वि.सं. १९४२ देखि १९५२ सम्म १० वर्ष दरबारको म्ूलपुरोहित चलाएका थिए (प्रकाश ए. राज, ‘प्राचीन नेपाल’ सङ्ख्या १४५–असार २०५७ः५२–५३) ।
कसकी छोरी हुन् डम्बरकुमारी ?
जङ्गबहादुरका घोषित रानी मात्र ४२ जना थिए । तीमध्ये अविवाहित अर्थात् ल्याइते रानीका रुपमा प्रशस्तै नारीहरु जङ्गबहादुरको दरबारमा भित्रिएका थिए । जङ्गबहादुरकी १८औँ रानीलाई ‘दाखचोके महारानी’ पनि भनिन्थ्यो (जबरा, २०६५ः१९३) । यिनको खास नाम मीना थियो । जबराले यी महारानीबाट सुरुमा एक छोरी भइन् र त्यसपछि छोरा डम्बरजंग जन्मे भन्ने उल्लेख गरेका छन् । ती छोरीको काजी डिल्लीसिंह बस्नेतका छोरा कप्तान पद्मकेशर बस्नेतसँग भएको उल्लेख गरेका छन् ।
यताबाट हेर्दा जबराले मीना महारानीतिर दुई मात्र सन्तान भएको भन्ने देखिन्छ । तर, अन्य स्रोत अध्ययन गर्दा मीना महारानीतिर जङ्गबहादुरका चार छोरी र एक छोरा गरी जम्मा पाँच सन्तान भएको देखिन्छ ।
भोटुद्वारेले टिपाएको विवरणअनुसार खत्रीकी छोरी मीना महारानीतिर छोरा डम्बरजङ्गका साथै छोरीहरु डम्बरकुमारी, वामा मैयाँ र कान्छो मैयाँ देखिन्छन् (कमल दीक्षित, ‘जंगगीता’ –२०४०ः१४३) । यताबाट हेर्दा डम्बरकुमारी मीना महारानीतिरकी छोरी भएको स्पष्ट हुन्छ । यस टिपोटमा तीन छोरी मात्र भएको देखिन्छ ।
मीना महारानीको माइत चोभार थियो भन्ने पनि अर्को स्रोतबाट देखिन्छ । दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ९३ (वैशाख २०५५ः१८)मा प्रकाशनमा ल्याएको कुण्डली सङ्ग्रहअनुसार मीनाको जन्म वि.सं. १८८८ फागुन २९ गते शनिबार चोभारस्थानमा भएको थियो । उनको देहान्त वि.संं. १९५७ मा भयो । उनी ६९ वर्ष बाँचेको देखिन्छ ।
भोटुद्वारेले टिपाएको विवरणमा डम्बरकुमारीको नाम स्पष्टै भएको तर अरु दुई छोरीको नाम वामा मैयाँ र कान्छो मैयाँ भएकोले उनीहरुलाई सम्मान वा प्यारले बोलाउने नाम मात्रै उल्लेख भएकोले त्यस विवरणले मात्रै उनीहरुको वास्तविक नाम के थियो भन्ने स्पष्ट हुन सक्दैन ।
पन्त (२०५५ः३०)ले जङ्गबहादुरकी भित्रिनी मीनातिरका सन्तानका रुपमा वि.सं. १९११ भदौ ८ गते एकै दिन जन्मेका भनी जगतकुमारी र डम्बरकुमारी नामका दुई छोरीको नाम प्रकाशित गरेका छन् । यताबाट हेर्दा यी दुई एकै दिन जुम्ल्याहाका रुपमा जन्मेका थिए भन्ने देखिन्छ । यसबाट डम्बरकुमारीको जन्ममिति पनि खुल्न आउँछ ।
यस्तै मीनातिरबाट अर्की छोरी पदमकुमारीको जन्म वि.सं. १९१३ असार शुक्ल षष्ठी (१९१३ असार २७ गते) भएको थियो (पन्त, २०५५ः३३) ।
यसैगरी मीना महारानीतिरबाट वि.सं. १९२६ असार १४ गते जङ्गबहादुरकी अर्की छोरीको पनि जन्म भएको थियो । कुण्डली सङ्ग्रहमा उनको नाम उल्लेख छैन । त्यहाँ ‘श्रीमहाराज मीनातर्फ पुत्री’ मात्र उल्लेख छ (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ९५–कात्तिक २०५५ः२) ।
यसबाट मीना महारानीतिरबाट जङगबहादुरका डम्बरकुमारीसहित चार जना छोरी जन्मेको देखिन्छ ।
जङ्गका छोराहरुको नामपछाडी ‘जङ्ग’ र प्रायः छोरीहरुको नामपछाडी ‘कुमारी’ राखिएको छ । तत्कालिन युवराज त्रैलोक्यकी युवराज्ञी तथा राजा पृथ्वीविक्रमकी आमा ललितराजेश्वरीको जन्मकुण्डलीको नाम ललितकुमारी हो ।
डम्बरकुमारीका भाई डम्बरजङ्ग
मीना महारानीतिरबाट जन्मेका छोरा डम्बरजङ्गले पनि राम्रै मानमनितो पद पाएका थिए । पन्त (२०५५ः९२) अनुसार डम्बरजङ्गको जन्म चौथो सन्तानको रुपमा वि.सं. १९२४ पुस २९ गते भएको हो । वि.सं. १९३० को कम्पु पल्टनको अभिलेखअनुसार डम्बरजङ्गको नाम २० औँ वरियतामा रहेको छ र त्यसबेला उनी कर्णेल पदमा रहेका थिए (जबरा, २०६५ः१६१) । यसले उनी ६ वर्षकै उमेरमा त्यति ठूलो पदमा पुगेको प्रमाणित हुन्छ । उनको पदोन्नति देख्दा मीना महारानी जङ्गबहादुरकी मनपर्ने रानी थिइन् भन्ने पनि अनुमान लगाउन सकिन्छ ।
वि.सं. १९४२ मा बीरशमशेरले सत्ता हत्याएपछि डम्बरजङ्ग पनि कोपभाजनमा परेका थिए । उनी पहिले ज्यान बचाउन चलसम्पत्ति बोकेर ब्रिटिश रेजिडेन्सीमा पुगेका थिए । उनी त्यतिबेला. मेजर जनरल पदमा थिए । उनी बनारसतिर निर्वासित भएका थिए । पछि नेपाल फर्की सरकारको भत्ता खाएर पोखरामा बसोबास गरेका थिए (पुरुषोत्तमशम्शेर जबरा, ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ छैटौँ संस्करण–२०७६ः३०५) ।
मीना महारानीतिरबाट जन्मेका छोरालाई राम्रै मानमनितो, पद र सुविधा दिएर राखिएको, अरु छोरीको विवाह पनि राम्रै घरानासँग गरिएकोमा छोरी डम्बरकुमारी भने बनारसमा कोठी खोलेर बस्दा शक्तिशाली श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुरलाई चित्त बुझ्ने कुरै भएन ।
जबरा (२०६५ः१९८)ले डम्बरकुमारी आफ्ना बाबु जङ्गबहादुरको जीवनको अन्तिमतिर बनारसमा कोठी खोलेर बसेकी थिइन् भन्ने उल्लेख गरेकोले उनको उमेर त्यसबेला २२ वर्षको थियो ।
यो वयस्क उमेरमा उनी रहर वा बाध्यता के कारणले देह ब्यापारका लागि कोठी खोलेर बसेकी थिइन्, यसबारे भने हालसम्म केही खुल्न सकेको छैन ।
सम्भवतः उनैले दरबारका सुसारे वा उनीहरुबाट सम्पर्कमा आएका महिलाहरुलाई पनि आफ्नो कोठीतिर लगेकी थिइन् ।
तर उनले अन्ततः यस्तो ब्यवसाय छाडेर कपडा बुन्ने सीपसमेत लिएर नेपाल फर्कनु, उनले तयार पारेको खास्टो उनकै नामबाट ‘डम्बरकुमारीको खास्टो’ले प्रशिद्धी पाउने भने उनी एक उदाहरणीय नारी हुन् भन्ने चाहिँ कुनै शङ्का छैन ।