Logo
Logo

​जलवायु वित्त परिचालनका लागि धनी राष्ट्रसँग माग


378
Shares

बाकु । अजरबैजानको राजधानी बाकुमा जारी विश्व जलवायु सम्मेलन (कोप–२९) स्थलमा नागरिक समाजका प्रतिनिधिले विरोध प्रदर्शन गरेका छन्।

हानिनोक्सानी सम्बन्धी कोष परिचालन गर्न विकसित राष्ट्रहरू तयार नभएपछि जलवायु परिवर्तनको जोखिममा परेका देशका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका हुन्।

विकसित र धनी राष्ट्रहरूले जलवायु न्यायका विषयमा, जलवायु वित्तको व्यवस्थापन र कार्बन उत्सर्जन कम गर्ने विषयमा प्रतिबद्धतानुसार काम गर्न नमानेपछि आजबाट नागरिक समाजका प्रतिनिधिहरूले विरोध गरिरहेका छन्। नागरिक समाजका प्रतिनिधिले सम्मेलनस्थलमै मौन प्रदर्शन गरेका हुन्।

नेपालबाट कोप-२९ मा सहभागी नागरिक समाजका प्रतिनिधि तथा प्रकृति रिसोर्स सेन्टरका कार्यक्रम निर्देशक प्रवीणमान सिंहले जलवायु संकटमा परेका राष्ट्रका पक्षमा निर्णय हुने अवस्था नदेखिएपछि बाध्य भएर प्रदर्शनमा उत्रनुपरेको बताए।

सिंहले सम्मेलनले जलवायु परिवर्तनले संकटमा परेका राष्ट्रहरूका लागि वित्तीय व्यवस्थापन गर्नुपर्छ भन्ने आफ्नो माग रहेको स्पष्ट पारे।

सिंहले भने, ‘कोप–२९ मा सहभागी सबै नागरिक संघ, संस्थाले प्रदर्शन गरिरहेका छन्। यो प्रदर्शनले ३ वटा माग राखेको छ। जलवायु न्याय‚ जलवायु वित्त र खनिज इन्धनको प्रयोग हटाउन यो कोपले उचित निर्णय लिनुपर्छ भन्ने माग राखी प्रदर्शन भइरहेको छ। सरकारले यो प्रदर्शनमा रोक लगाएको हुनाले मौन प्रदर्शन भइरहेको छ।’

कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीको सामना गर्ने कमजोर देशलाई सहयोग गर्न वित्तीय लक्ष्यमा सम्झौता सुरक्षित गर्नु हो।

जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्ति‚ साना किसान, आदिवासी समूह र विभिन्न देशका स्थानीय समुदायका प्रतिनिधि प्रदर्शनमा सहभागी थिए।

सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्