Logo
Logo

भुजेल भाषाको साहित्य र सम्भाव्यताबारे विज्ञको चासो र चिन्ता


189
Shares

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको १६औँ शृँखलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न गरेको छ । यस अवसरमा भुजेलभाषा अध्येता विशम प्हुगालद्वारा लिखित’ भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश हो । त्यसैले प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शँुखला सुरु गरेको बताएका थिए । उनले बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने बताए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मनतव्यका क्रममा मातृभाषा साहित्य शृङ्खला सुरु भएदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्ने र अनुसन्धान गर्न सक्ने अवसर मिलेको छ । यस कार्यक्रमले जनजातीय स्रष्टामा ऊर्जा र उत्साह थपेको बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जनजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकाली ओराली र आरोह–अवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्त्वपूर्ण गाथा बनेको बताए ।

कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धुन प्रस्तुत गरेका थिए । साथै, कुलुङ भाषाका कवि फुलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेहा झाले कविता वाचन गरेका थिए ।

यसैगरी भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि प्राज्ञ डा.विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले आआफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्