काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । आक्रमणमा संलग्न गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
व्यवसायी लामामाथि काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा गत कातिक ११ गते आक्रमण भएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले मार्सललाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएका छन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने एसपी अधिकारीले बताएका छन् ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ । प्रहरीका अनुसार आक्रमण गर्नेमध्ये २ जना अझै फरार छन् । उनीहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।