Logo
Logo

रुसमाथि लामो दुरीका मिसाइल हान्न युक्रेनलाई अमेरिकाको अनुमति

कुनै पनि नेटो पोष्टमा हमला गर्ने पुटिनको चेतावनी


1k
Shares

काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसको भित्री भूमिसम्म आक्रमण गर्ने अनुमति दिएको छ । कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो अनुमति दिएको हो ।

रुस र युक्रेनबीच ३३ महिनादेखि युद्ध जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । यी दुई देशबीचको टकरावका बीच अमेरिकाले यस्तो निर्णय लिएको हो ।

अमेरिकी मिडिया न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार यसअगाडि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले अनुमति दिएका छन् । दश हजार बढी उत्तर कोरियाली सेना रुसमा आएको खबर सार्वजनिक भएसँगै अमेरिकाले युक्रेनलाई यस्तो अनुमति दिएको हो ।

यस्तै, अमेरिकाले अनुमति दिएसँगै फ्रान्स र बेलायतले पनि यसअघि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल अहिले अनुमति दिएका छन् । सो कुरो युक्रेनी मिडिया किभ इन्डिपेन्डेन्ट लगायतले सार्वजनिक गरेका छन् ।

यसैबीच रुसले नेटो पोस्टमा हमला गर्न सक्ने बताएको छन् । सोमबार नै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देशको सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै पनि नेटो पोस्टमा हमला गर्न सक्ने बताएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध समाप्त गर्नका लागि हरसम्भव कोसिस गर्ने बताएका थिए । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दुई दिनअघि मात्रै एक रेडियो अन्तर्वार्तामा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको र ट्रम्पले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

समाचार एजेन्सी एपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणका लागि उत्तर कोरियाको समेत समर्थन पाएका छन् । उत्तर कोरियाले रुसमा आफ्ना हजारौं सैनिक पठाएको छ । यससँगै युक्रेनमा रुसले अझै घातक आक्रमण गर्नसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्