Logo
Logo

फेरि ब्युँतियो पहिचानको आन्दोलन


1.1k
Shares

काठमाडौं । कोशी प्रदेशमा फेरि पहिचानको आन्दोलन ब्युँतिएको छ । 

 २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै आन्दोलित बनेका पहिचानवादीको आन्दोलन २०८१ वैशाख १५ गते सम्पन्न इलाम–२ को उपनिर्वाचनमा पुगेर टुङ्गिएको थियो । त्यसको ७ महिनापछि पुनः आइतबार विराटनगरमा पहिचानवादीहरूको प्रदर्शन सुरु भएको छ । पहिचान पक्षधरहरूले  दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् । 

प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने मागसहित आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशको नाम फेर्न दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार विराटनगरमा पहिचान पक्षधरहरूले शक्ति प्रदर्शन गर्दै आमसभा गरेका थिए ।

समितिले कोशी नाम खारेज गर्न माग गर्दै फागुन १७ लाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । समितिले चैत १० सम्ममा कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटमसमेत दिएको छ ।

समितिले कोशी नाम खारेजी गरी पुनः नामकरणको प्रक्रिया सुरु गर्न माग राख्दै प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

समितिले प्रदेशको नाम कोशी राख्न हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने पुरानै नीति लिएको छ । समितिले हस्ताक्षर फिर्ता लिएको जानकारी नगराएसम्म कोशी नामको पक्षमा उभिने प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने जनाएको छ ।

कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । कोशी नामको पक्षमा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेशसभा सदस्यहरू उभिएका थिए ।

प्रदेशको नाम कोशीको पक्षमा उभिएका प्रदेशसभा सदस्यहरूलाई पहिचान पक्षधरहरूले बहिस्कार गर्दै उनीहरू सहभागी कार्यक्रममा अवरोध गर्दै आएका थिए । अवरोधका कारण पटक पटक प्रहरी समक्ष झडप हुँदै आएको थियो । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

प्रदेशको नामकरणको विवादपछि सरकार र पहिचान पक्षधरहरूबिचमा पटक पटक वार्ता भएको थियो ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि पहिचान पक्षधरहरूले शान्तिपूर्ण गतिविधि गर्ने बताएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दै आएका पहिचान पक्षधरहरूले पुनः प्रदेशसभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निषेधको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्