Logo
Logo

मिसन पत्रकारिताको चार दशक


4k
Shares

आजबाट हामी ४१ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेका छौँ । नेपाली पत्रकारिताको इतिहासमा चार दशकदेखि सङ्घर्षमय यात्रामा हामीलाई सधैँ विश्वास गर्ने आमपाठकप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । हरेक अप्ठेरा, कठिनाइ र चुनौतीमा आमपाठकबाट प्राप्त साथ र विश्वास नै दृष्टिको सम्पत्ति हो ।

यसैको जगमा हामीले सत्यको उजागर गर्दै जनपक्षीय मिसन पत्रकारितालाई निरन्तरता दिँदै आएका छौँ । पञ्चायतविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक संघर्षमा ‘दृष्टि’ सधैँ अग्रमोर्चामा रह्यो ।

राजनीतिक, सामाजिक र आर्थिक बदलावका निम्ति दृष्टिले सधैँ परिवर्तनको पक्षमा, जनताको पक्षमा वकालत गरिरह्यो, आगामी दिनमा पनि विकृति र विसंगतिविरुद्ध हाम्रो संघर्ष जारी रहनेछ । हाम्रो यात्रामा सधैँ सहयोग गर्ने बिक्रेता एवं वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा शुभेच्छुक महानुभावहरूप्रति पनि आभार प्रकट गर्दछौँ ।

हामी जन्मेदेखि नै निरंकुश शासनविरुद्धको संघर्षमा अग्रमोर्चामा रह्यौँ । अहिलेको संविधानले पूणर्प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गरे पनि, नेपाली प्रेसले विभिन्न कठिनाइ खेप्नुपरिरहेको छ ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न विभिन्न कानुनहरू निर्माणको प्रक्रियामा छन् भने, सरकारको आलोचना गर्नेहरू माथि साइबर अपराधमा कारबाही पनि भएको छ । यस्तो बेला सरकारको निरंकुश, तानाशाही शैलीको हामी निन्दा र भर्त्सना गर्दछौँ । जस्तोसुकै परिस्थितिमा पनि हामी विचलित नभई मिसन पत्रकारितामा सक्रिय रहने प्रतिबद्धता पुनः एकपटक जाहेर गर्दछौँ ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालन गरेको अहिलेको अवस्थामा नागरिकको आवाज संसदमा कमजोर बन्न पुगेको छ । विपक्षी दल कमजोर हुँदा सशक्त प्रतिपक्षको भूमिका मिडियाले खेल्नुपर्ने अवस्था छ ।

ठूला मिडिया निहित स्वार्थअनुसार चलेको परिवेशमा देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढेको दृष्टि साप्ताहिकको काँधमा सत्य, तथ्य समाचार÷विश्लेषण प्रकाशित गर्ने दायित्व छ । विश्वभर नै राजनीतिक उद्देश्य प्राप्तिका लागि सञ्चार माध्यमको प्रयोग हुन्छ ।

अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा त्यहाँका मूलधारका भनिएका मिडियाहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसको पक्षमा खुलेरै प्रस्तुत भए । फ्रान्सका तत्कालीन सम्राट नेपोलियन बोनापार्टले ‘एक हजार हतियारधारी सेनाभन्दा चार वटा विरोधी अखबार शक्तिशाली हुन्छ’ भनेबाटै जनपक्षीय पत्रकारिताको महत्व कति छ भनेर बुझ्न सकिन्छ ।

भारतमा महात्मा गान्धीले अंग्रेजहरूलाई भारतबाट हटाउन पत्रपत्रिका प्रकाशन गरी सर्वसाधारण माझ जनचेतना जगाउने काम गरेका थिए । त्यो पनि मिसन पत्रकारिता नै थियो । मिसन पत्रकारिताको उद्देश्य निश्चित लक्ष्य हासिल गर्नु हो ।

नेपालमा पञ्चायतकालदेखि मिसन पत्रकारिता सुरु भएको हो । बहुदलीय व्यवस्थामाथि प्रतिबन्धपछि निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्र प्राप्तिलाई लागि मिसन पत्रकारिता सुरु भएको थियो । त्यतिबेला मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्र प्राप्ति थियो, जसका लागि पत्रकारहरूले अनेक दुःख, कष्ट भोग्नुप¥यो ।

कयौँ पत्रकारले कुटाइ खाए, कयौँ जेल परे । बहुदलीय व्यवस्था पुनर्बहालीपछि पनि देशमा जनताले चाहेअनुसारको परिवर्तन भएन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासमेत सरकारको कार्यशैलीमा परिवर्तन आउन सकेको छैन ।

नयाँ संविधान बनेपछि शान्ति, स्थिरता र विकासको अपेक्षा गरिएको थियो । तर, त्यसअनुसार कुनै पनि सरकार अगाडि बढ्न सकेनन् । सत्ताको मातले कुनै पनि प्रधानमन्त्री, मन्त्रीलाई छाडेन । सत्तामा पुगेपछि जनतालाई बिर्सने संस्कार नै बन्न पुग्यो ।

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन । ६२–६३ को दोस्रो जनआन्दोनलपछि पनि नेपाली पत्रकारिताले गुणात्मक फड्को मार्न सकेन । व्यापारीहरूले सञ्चालन गरेका ठूला मिडिया आफ्नो स्वार्थअनुकुल प्रयोग भएका छन् । यो राष्ट्रिय स्वाभिमान, प्रेस स्वतन्त्रताका लागि खतराको संकेत हो । स्वच्छ समाचारले निष्पक्षता गुमायो । यो पत्रकारिता क्षेत्रकै लागि ठूलो चुनौती हो ।

आजको दिनसम्म आइपुग्दा स्वच्छ, निष्पक्ष र सन्तुलित पत्रकारिता जो कोहीले गर्न सक्दैनन् भन्ने देखिदै गएको छ । बदलिँदो समय र चुलिँदो जनआकांक्षालाई मध्यनजर गर्दै परिणाममुखी उपलब्धि हासिल गर्न फेरि पनि मिसन पत्रकारिताको आवश्यकता छ ।

दृष्टिले मिसन पत्रकारितालाई आगामी दिनमा थप सशक्त बनाउँदै लाने छ । देशका तमाम विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता, भ्रामक र मिथ्या सूचनाहरूलाई चिर्दै तथ्यगत समाचार र विश्लेषण पस्कनु दृष्टिको धर्म हो । देशमा केही गरौँ भन्नेलाई हौसला प्रदान गर्नु प्रेसको दायित्व हो । दृष्टिले नेपाली समाज रूपान्तरणको लक्ष्य र ध्येय लिएको छ ।

विकृति, विसंगति र भ्रष्टाचार निर्मूल हुनुपर्छ भन्ने मान्यतामा हामी दृष्ढ छौँ । साप्ताहिक पत्रिकाका साथै दृष्टिन्यूज अनलाइन पोर्टल र युटुर्व च्यानलबाट समेत मिसन पत्रकारिताको निर्विकल्प माध्यमको रूपमा अगाडि बढेका छौँ । जसमा लाखौँ प्रवुद्ध पाठक सहभागी छन् ।

देश र जनताको पक्षमा आवाज बुलन्द गर्नु हाम्रो पेशागत धर्म हो । व्यवस्थाको रक्षा, आवाज विहीनहरूको आवाजको प्रतिनिधित्व, सत्ता र शक्तिमा रहेकाहरूमाथि निरन्तर निगरानी हाम्रो मिसन पत्रकारिता हो । आजको दिनमा मिसन पत्रकारिताको आवश्यकता झनै बढेर गएको छ । अन्त्यमा, ४२औँ वर्ष प्रवेशको अवसरमा आमपाठक, विज्ञापनदाता, शुभेच्छुकलगायत सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्