यो संसारमा लक्ष्य बिनाको केही हुन्छ भने त्यो बेकार हुन्छ । कसैले छैन भन्छ भने पनि त्यो एक किसिमको सफेद झुट नै हुन्छ । हरेकको केही न केही लक्ष्य त हुन्छ नै । तर, त्यो समय र स्थानले बनाएको सन्दर्भसँग युक्तिसंगत छ कि छैन भन्ने चाहिँ हुँदो हो । यही कशीमा लक्ष्य राम्रो वा नराम्रो भन्ने पनि हुन सक्छ कि ? तर, म यसमा पनि यकिन छैन ।
म यसपटकको ‘बिलोम’ लक्ष्यबाट सुरु गरिरहेको छु । तर, यो सुरुवात यही रोकिनलाई हैन । म मिशनमा पुग्न चाहन्छु । त्यो पनि मिशन जर्नालिज्ममा । मलाई थाहा छैन, मिशनको ठ्याक्कै अनुवाद लक्ष्य हुन्छ कि हुँदैन । जर्नालिज्म त मज्जैले पत्रकारिता भैसक्यो । यसैले मिशन पत्रकारितालाई लक्ष्य पत्रकारिता भन्दा हुन्छ कि जस्तो लागेको हो । यद्यपि, अझै पनि मैले लक्ष्य पत्रकारिता भनेर मिशन पत्रकारिताको स्वाद पाइरहेको छैन ।
भो, यसपटक मिशन पत्रकारिता नै भनेर काम चलाउने भएँ । अर्को वर्ष लक्ष्य पत्रकारिता सार्वजनिक रूपमै पुगिसरी खपत भयो भने लक्ष्य पत्रकारितासम्मै पुगेर कुरा गरौला ।
नेपालमा मिशन पत्रकारिता थियो र अझै पनि छ । फरक केही भएको छ भने मिशन के का लागि भन्ने मात्र हो । सुरुमा नेपालको मिशन पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको लागि थियो । त्यसका लागि सुरुमा जहानियाँ राणा शासन बाधक थियो, पछि एकदलीय पञ्चायती शासन । ती दुबैलाई हटाएर आउने दलीय व्यवस्थामा मात्र अभिव्यक्ति स्वतन्त्रता हुन्छ भनेर केही मानिस पत्रकारितातिर लागे । साँच्चै नै ती मानिसहरू महान् थिए जसले राणा र राजाले ओछ्याएको मखमली कार्पेट हैन, जेल–नेलको ढुंगेबाटो रोजे ।
हो, त्यतिबेला पत्रकारिता आजजस्तो आमसञ्चारका सिद्धान्तमा आधारित थिएन । न त्यसको बुनोट र बनोटमा आधारित पत्रकारिताको प्रयोग नै आज जस्तो गणितीय थियो । समाचार संरचनाको पिरामिड उल्ट्याउने र सुल्ट्याउने कुरा त धेरै टाढाको कुरा थियो ।
गोरखापत्रको भाषालाई गुरु दक्षिणा चढाएर लेख्नुपर्ने त्यो जुगका अभिव्यक्ति स्वतन्त्रताका मनिषीहरूले जे गरे, त्यो आफैँमा महान् थियो । अवसरका मैदानहरू छोडेर चुनौतीका पहाडहरू चढ्ने ती अग्रजहरूकै कारण देश २०४६ को वसन्त क्रान्तिसम्म आइपुग्यो ।
यदि उनीहरूले साहसका साथ कलम नसमाएका भए अभिव्यक्ति स्वतन्त्रताका नाममा आज जे जस्ता अभ्यास र प्रयोगहरू भइरहेका छन्, तिनको कल्पनासम्म पनि गर्न सकिँदैन थियो ।
२०४६ अघि खासगरी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको मिशन पत्रकारिताले आफ्नो लक्ष्य भेट्टायो । हुन त त्यस बेला यो लक्ष्यलाई रोक्ने दिशामा अर्को मिशन पत्रकारिता पनि चलाइएको थियो । पञ्चायतको पक्षमा अझ भनौँ राजाका पक्षमा गरिएको त्यो मिशन पत्रकारिताको भने राम धुलाई भयो ।
यसको सफेद कारण के हो भने त्यो मिशन समय र स्थानले चाहेको सन्दर्भ बनाउने दिशामा थिएन । उल्टो दिशामा हिडेर समयको कशीमा उत्रने दाउमा थियो, नराम्ररी ढल्यो । त्यतिबेला त्यो मिशनका पत्रकारहरूले सत्ताको पाल्तु भएर मोज नै गरेका थिए । उनीहरूको त्यो मोजको मिशन भने सफल थियो ।
२०४६ को वसन्त क्रान्तिको सफलताले देशमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित ग¥यो । त्यसपछि निजी क्षेत्रबाट कर्पोरेट पत्रकारिता आयो । अनि भयो, टेब्लोयड बढेर ब्रोडसिटेट । लेटर प्रेस अफसेट हुँदै वेभमा उक्लियो । श्याम÷श्वेत पानाहरू रंगीन भए । विज्ञापनहरू पत्रिकाका अनिवार्य कन्टेन्ट बने ।
त्यसका लागि आवश्यक पर्ने आमसञ्चार र पत्रकारिता शिक्षाको पठन पाठन अरू व्यवस्थित रूपमा सुरु भयो । अनि मात्र साँचो मानेमा सुरु भएको हो, समाचार संरचनाको पिरामिड उल्ट्याउने र सुल्ट्याउने क्रम । यसैको सेरोफेरोमा गरिने पत्रकारिताले व्यावसायिक पत्रकारिताको भाष्य पायो ।
अब देशमा दुई खाले पत्रकारिताको युग सुरु भयो । पहिलो कित्तामा २०४६ पूर्वको मिशन पत्रकारितालाई राखियो र नयाँ नाम दिइयो, पार्टी पत्रकारिता । यो नामकरण मिशन पत्रकारिताको ब्राण्ड अर्को मिशनमा सार्न गरिएको एक किसिमको सुनियोजित चालको अंश थियो । त्यतिबेलाका अगुवा साप्ताहिक मिशन पत्रिकाहरू कुनै कुनै पार्टीका नजिक भएकाले उनीहरूलाई त्यो नाम असुहाउदिलो पनि थिएन ।
दोस्रो कित्तामा मूलतः व्यापारीहरू मालिक भएर सुरु गरिएको व्यापारिक पत्रकारिता थियो । तर, त्यसलाई व्यावसायिक पत्रकारिता भन्न थालियो । यी मालिक व्यापारीले गर्ने कर्पोरेट पत्रकारिताको खास मिशन थियो– शक्ति आर्जन गर्ने र त्यसलाई माध्यम बनाएर पैसा कमाउने । त्यसका लागि शक्तिकेन्द्रहरूसँग पहुँच बनाउन जान्नेहरूलाई सम्पादक र प्रधानसम्पादक बनाएर समय सुहाउँदो पत्रकारिताको प्याकेजिङ गर्न उनीहरूले जानेका थिए । उनीहरूका लागि पत्रकारिता खाडी मुलुकमा सस्तो श्रमिक पठाउने म्यानपावर कम्पनी वा भारतमा बनाएको कार्पेटलाई नमस्ते कार्पेटको ब्राण्डमा मेन इन नेपाल लेखेर अमेरिका पठाउने व्यापार भन्दा बढी केही थिएन ।
नेपालमा अहिले स्रोत र साधनको अभाव हुँदाहुँदै पनि पार्टीको नजिक रहेर गरिने पार्टी पत्रकारिता अस्तित्व जोगाउने लडाइमा छ । यस कित्तामा धेरैजसो साप्ताहिक पत्रिका छन् । केही प्रिन्टमा टेब्लोयडमा आउँछन्, बाँकी सबै अनलाइन र ई–कारितामा गैसके ।
ई–कारिता पनि के भन्नु पीडीएफ पत्रकारिता भन्दा हुने अवस्था छ । लगभग कपी पेस्ट वा पुनः सम्पादन पत्रकारितामा गइसकेका यिनीहरूले दिनानुदिन पाठक र सामाजिक स्वीकृति गुमाइरहेका छन् । इतिहास र योगदान गरेकाहरू त्यसैको आधारमा घिस्रिरहेका छन् । अहिलेसम्म पनि उनीहरू नजिकका राजनीतिक दलहरू नै सत्ताको रहेकाले घिस्रिनका लागि यो वा त्यो नामको टेको पाएकै छन् ।
अहिलेको नेपाली पत्रकारिताको मूलधार यिनै दुई कित्ताले बनेको छ । यी दुवै कित्ताको देखाउने एउटै तर चपाउने भने फरक मिशन छन् । दुबैको देखाउने मिशन चाँहि स्वस्थ पत्रकारितामार्फत् जनतालाई सुसूचित गर्ने नै हो । तर, चपाउने मिशन चाहिँ पार्टी पत्रकारिताको आआफ्नो पार्टी अझ त्यसमा पनि आआफ्नो नेता वा उसको गुटको राजनीति बचाउने हो ।
उता, कर्पोरेट पत्रकारिताको चपाउने मिशन शुद्ध मुनाफाखोरी व्यापार हो । दुवैले मस्तले एडिटोरियल मिक्सिङ गरेकै छन् । र, दुबैतिर अर्को पनि एउटा समानता छ, त्यो के भने दुबैतिर मालिक मोटाउँदै गएका छन् तर पत्रिका भने खिइदै गएका छन्। अपवादलाई छोडेर हरेक मिडियामा पत्रकारहरूले समयमा तलब पाएका छैनन् ।
पछिल्लो समय वैकल्पिक मिडियाका रूपमा युट्युबमा धेरै बुनोट र बनौटका मिडिया कन्टेन्ट आएका छन्, सामाजिक सञ्जालको पनि बिगबिगी बढेको छ । तर, मूल रूपमा यी प्राथमिक मिडिया हैनन् । यिनीहरू मूलधारकै मिडियामा आधारित सामग्रीको पुनः उत्पादन र प्रसारणमा उपयोग भइरहेका मिडिया भेहिकल मात्र हुन् ।
यद्यपि, यिनीहरू ‘इन्स्यान्ट’ अनि ‘अजिनोमोटो’ कन्टेन्टका कारण लोकप्रिय छन् । सस्तो लोकप्रियताका कारण यतातिर लागेका केहीलाई हुटिट्याउले सागर थाम्छु जस्तो लागेको जस्तो पनि देखिएको छ, तर यथार्थमा त्यस्तो कहिल्यै हुँदैन ।
आमसञ्चारको एउटा सिद्धान्तले भन्छ, ‘मिडियाको साइक्लिक अर्डरमा मूलधारे मिडिया र वैकल्पिक मिडियाहरू ठाउँ र भूमिका फेर्न सक्छन् । तर, त्यसका लागि आधारभूत रूपमा उनीहरू लगभग उस्तै बुनोट र बनोटको हुनुको साथै लगभग उस्तै संरचनाका हुनुपर्छ ।’ जस्तो कि बाघ वर्गको बिरालोले कहिलेकाहीँ बाघ जस्तै भनेर प्रतिस्थापन गर्न सक्छ तर कुकुर बर्गकोले बाघ वर्गको लाई प्रतिस्थापन गर्न सक्दैन ।
सन्दर्भ दृष्टि साप्ताहिकको ४२औं वार्षिकोत्सवको हो । दृष्टि नेपालमा अभिव्यक्ति स्वतन्त्रताका लागि वामपन्थी धारबाट निरन्तर लागेको आफैँमा एक मिशन हो । यसले यदाकदा पार्टी र व्यक्तिको काँध फेरे पनि विचारको काँध फेरेको छैन । र, आफ्नो मिशनबाट बाहिरिएको पनि छैन । कुनैबेला लेटर प्रेसबाट निस्कने दृष्टि आज रंगीन कलेबरसहित अत्याधुनिक अफसेट प्रविधिमा उपलब्ध छ ।
सात दिनमा निस्कने दृष्टि आज छिनछिनमा अनलाइन संस्करणमा पनि छ । विशुद्ध वामपन्थी खेमा त्यो पनि एउटा पार्टी विशेषको नजिक रहेर मिशन पत्रकारिता गर्दैआएको दृष्टिले त्यो घेरालाई अरू फराकिलो बनाएको छ ।
यद्यपि, दृष्टिका सामु अझै पनि चुनौतीका अजंग पहाडहरू उभिएकै छन् । चुनौतीका ती पहाडलाई अवसरका मैदानमा बदल्नु छ । यो काम आफैँमा सहज छैन । तर, दृष्टिलाई थाहा छ, ती चुनौतीका पहाड पन्छाएर अवसरको मैदान बनाउने अभिभारा फेरि पनि दृष्टि र दृष्टिहरूकै हो । पत्रकारिताका नाममा आएका यी वा तीखाले फौबन्जारहरूले त्यो भूमिका निर्वाह गर्दैनन् किनकि उनीहरू त्यो चुनौती सामना गर्न आएकै होइनन् ।
यो स्तम्भकार विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारी लिएर दृष्टि–यात्रामा जोडिएको छ । यस क्रममा केही आरोह–अवरोह र तीता–मीठा अनुभव पनि छन् । लामो यात्रामा त्यस्तो हुनु स्वाभाविकै हो । तर जे भए पनि हाम्रो मिशन अहिले पनि एउटै छ । यो स्तम्भकार साँचो मनले समृद्ध नेपाल र सुखी नेपाली देख्न चाहन्छ । त्यसको पहिलो शर्त राजनीतिक स्थायित्व नै हो । तर, त्यो स्थायित्वमा जिउँदो जाग्दो लोकतन्त्र सवार हुनुपर्छ । मूर्दाशान्तिको राजनीतिक स्थायित्व आजको लोकतन्त्र हैन ।
त्यसका लागि नेपालमा वैचारिक आधारमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण हुन जरुरी छ । नेपालको आवश्यकता धेरै दल र ठूलो संरचना हैन । नेपालको भूराजनीति, स्रोत र साधनले पनि त्यसको अनुमति दिँदैन ।
यो स्तम्भकार सामाजिक न्यायको पक्षपाती हो र त्यसको मार्गचित्र दक्षिणपन्थ नभएर वामपन्थ नै हो भन्ने उसको दृढ विश्वास छ । त्यही विश्वासका साथ सामाजिक न्यायको पक्षमा मिशन पत्रकारिता सुरु गरेको हो । भूगोल फेरिए पनि त्यो मिशनमा सत्तिसालझै दृढ छ । दृष्टि पनि यो मिशनबाट बाहिर छैन ।
यसैले यो स्तम्भकार परदेशमा रहेर पनि ‘बिलोम’ लिएर हरेक मंगलबार पाठकहरूसँग जोडिदै आएको छ र समयसन्दर्भ साथ दिएमा जोडिरहने प्रतिबद्धता व्यक्त गर्दछ । दृष्टिलाई निरन्तर यात्रा र सफलताको अगणित शुभकामन