Logo
Logo

ट्रयाकसुटमा करोडौ घोटाला


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीको लत्ताकपडा मध्ये ट्रयाक सुट खरिदमा दुई पटकमा करोडौ रुपैयाँ हिनामिना भएको आशंका छ । गुणस्तरभन्दा निकै कमजोर ट्रयाक सुट खरिद गरेर जिल्ला– जिल्लाका यूनिटमा पठाइएको र त्यसरी पठाएको ट्रयाक सुट लगाउने अवस्थामै नभएपछि यसमा ठूलो रकम हिनामिना भएको आशंका गरिएको हो ।

गत दुई वर्ष यता खरिद गरिएको करिब १६ करोड रुपैयाको ट्रयाक सुटमा करोडौ रुपैया अपचलन गरिएको प्रहरी प्रधानकार्यालयमा चर्चा चलेको छ । यही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राखेको छ ।

नेपाल गुणस्तर विभागमा पठाइएको नमूना र प्रहरस्को भण्डारण शाखामा बुझिलिएको ट्रयाक सुटको गुणस्तरमा आकाश र जमीनको फरक परेको छ । बजार ५ देखि ६ सय मूल्य बराबरको सामाग्रीलाई करिब दुई हजार प्रति गोटा खरिद गरिएको त्यो लगाउन पनि नमिल्ने भएपछि कतिपयले त्यसलाई दराजमै थन्क्याएका छन् । करिब ९० हजार सामानको मूल्यपनि फरक फरक रहेको छ ।

६० हजार ट्रयाक सुटको मूल्य प्रतिगोटा दुई हजार रहेको छ भने ३० हजारको मूल्य प्रतिगोटा करिब एक हजार ४ सय माथि रहेको छ । दुई पटक गरेर खरिद भएकोमा करिब १६ करोड रुपैयाको सामान न्यून गुणस्तरको रहेको छ ।

सामान खरिदको काम सिधै प्रहरी महानीरिक्षक वसन्त कँुवर मातहत रहेको प्रबन्ध शाखाले गर्छ । प्रबन्ध शाखाको जिम्मेवारी आफूलाई नेकपा एमाले निकट ठान्ने केदार ढकालको हो । उनलाई प्रदेश पठाउदा पनि नगई त्यही बसेका थिए । उनकी श्रीमती ओमदेवी मल्ल नेकपा एमालेको तर्फबाट सांसद भएकी थिइन । अहिले पनि एमालेको सहकारी विभागमा रहेकी छिन् । उनकै जोडबलमा ढकाललाई एआइजीमा बढुवा गरिएको छ ।

उनी यही २१ गते अनिवार्य अवकाशमा जाँदैछन् । प्रबन्धमा अर्का एसपी गोविन्द पुरी रहेका छन् । उनी नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री पदम गिरीलाई नातो लगाउदै हिड्ने गरेका छन् । ढकालकै पालाका दुई पटक खरिद गरिएको ट्रयाक सुटको भुक्तानी भएको छ । एक पटक ११ करोड र अर्को पटक ५ करोड रुपैया भुक्तानी भएको हो ।

प्रहरीको भण्डारमा अहिले स्वीकृत नमुनाभन्दा फरक सामान रहेका छन् । डिआइजी ढकाल, एसपी पुरीको र ठेकेदारको मिलेमतोलाई प्रहरी प्रधानकार्यालयका उच्च अधिकारीहरुले आँखा चिम्लिदिएका छन् ।

प्रहरी प्रधान कार्यालयले गत आर्थिक वर्षमा खरिद गरेको ११ करोडको सामानमा स्वीकृत नमुना परीक्षणमा गोलमाल पारेर घोटाला गरिएको स्रोतले जनाएको छ । ६० हजार ट्र्याकसुट खरिद गर्दा गत वर्षको असारमै ११ करोड ५४ लाख २९ हजार भुक्तानी भएको थियो भने यसवर्ष पनि करिब ३० हजार ट्रयाक सुट खरिदमा करिब ६ करोड माथि भुक्तानी भैसकेको छ ।

ठेकेदार रितेश अग्रवालले मिलेमतोमा नेपाल प्रहरीका अधिकृतदेखि जवानसम्मले प्रयोग गर्ने ट्र्याकसुट कमसल गुणस्तरको आपूर्ति गरिएको छ ।

शुरुमा ल्याएको सामानमा कुनै कमजोरी नदेखाउने तर मापदण्डको रिपोर्ट आएपछि भने सबै सामान गुणस्तरहीन ल्याउन गरिएको स्रोतको दावी छ । दोस्रोदेखि अन्तिम लटमा आएका सामान गुणस्तहीन भएको थाह हुँदा पनि भण्डारणमा बुझ्ने गरिएको र भण्डारणमा रहेका सबै कर्मचारीलाई कमिशन दिने गरिएको स्रोतको दावी छ ।

कर्मचारीका अनुसार दोस्रो र तेस्रो खेपमा आएका गुणस्तरहीन कपडा बुझेर करोडौ रुपैया घोटाला गरिएको छ । यसको सबै आफूर्ति रितेश अग्रवालको एसके गार्मेन्ट्स र स्लोक इन्टरप्राइजेजबाट टेन्डर हालेका थिए । त्यसमध्येको स्लोक इन्टरप्राइजेजबाट ट्रयाकसुट आपूर्ति गरिएको थियो । नेपाल प्रहरीको ट्र्याकसुट खरिदमा महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ ।

महालेखाको प्रतिवेदनमा प्रहरी नियमावलीमा समावेश नगरी तथा संशोधन नगरी ट्र्याकसुट खरिद गरेको उल्लेख छ । ६० हजार ट्र्याकसुट खरिदको दररेटमै शंका उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीको प्रबन्ध शाखाले ट्र्याकसुट नमुनाभन्दा फरक बुझेपछि देशभर त्यही सामान वितरण भएको थियो ।

प्रबन्ध शाखाका कर्मचारीले पुरानो नमुनाअनुसार भन्दै कमसल गुणस्तरको सामान बुझेका हुन् । कमिसन पाइने भएकाले सामान जस्तोसुकै भए पनि नमुनाअनुसार आएको उल्लेख गरेर प्रबन्ध शाखाका कर्मचारीले बुझ्ने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्