Logo
Logo

आफ्नालाई बढुवा गर्न एआइजी–डिआइजीको दरवन्दी थपिँदै


5.3k
Shares

काठमाडौं । सरकारले आफ्ना मान्छेलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरीमा दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी र नेपाल तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरवन्दी थप गर्ने तयारी गरेको छ ।

सशस्त्र प्रहरीमा डिआइजी किशोर प्रधान र गणेश ठाडा मगरलाई बढुवा गर्न र नेपाल प्रहरीमा दूर्गा सिंह चन्द भरत बोहोरा कुवेर कडायतलाई बढुवा गर्नका लागि दरवन्दी थप गर्ने भएको स्रोतले बताएको छ । ‘दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधानकार्यालयले गृहमन्त्रालयमा पठाइसकेको छ, गृहले पनि अर्थमन्त्रालयमा पठाएको छ अर्थले कुनै जानकारी दिएको छैन’, स्रोतले भन्यो ।

नेपाल प्रहरीमा ३ डिआइजीको दरबन्दी थप गर्दा डिआइजीको संख्या ३० पुर्याउने तयारी भएको छ । नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्याउन लागिएको हो ।

ट्राफिक, लागुऔषध र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी आवश्यक रहेको भन्दै प्रहरीमा ३ वटा दरबन्दी थप गर्न लागिएको हो । हाल ८ वटा पद रिक्त रहेकोमा ३ वटा थप गरेर ११ वटा पदमा बढुवा सिफारिस गर्न लागिएको छ ।

नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा रोकेर दरवन्दी थप गर्ने तर्फ लागिएको छ । डिआइजीमा बढुवा हुनेहरु चलखेल गर्न थालेपछि प्रहरी प्रधानकार्यालयले डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।

प्रहरी प्रधानकार्यालयले प्राविधिकतर्फको दुई दरवन्दीपनि थप गर्न माग गरेको छ । तर अर्थमन्त्रालयले यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।

गत असारदेखि नै नेपाल प्रहरीमा डिआइजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो । हाल रिक्त डिआइजीको संख्या ८ पुगेको छ । असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डिआइजीमै अवकाश भएका थिए । उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए । यद्यपि, उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन् । सो मुद्धा अहिले विचराधीन रहेको छ ।

गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डिआइजीको पद रिक्त भएको थियो । तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो ।

भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एक महिनापछि असोज १४ गते डिआइजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डिआइजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो ।

कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डिआइजी रिक्त भएको थियो । किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डिआइजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ । यससँगै नेपाल प्रहरीमा रिक्त डिआइजीको संख्या ८ पुगेको हो । ढकाल ट्रयाक सुट खरिद प्रकरणमा मुछिएका छन् ।

रिक्त डिआइजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डिआइजी बन्न लबिइङमा लागेका छन् । यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डिआइजी बढुवा सिफारिस हुने देखिएको छ ।

आइजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए ।

त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डिआइजी बन्ने सूचीको प्राथमिकतामा छन् । डिआइजी दूर्गा सिंह चन्द एआइजी बढुवामा पछि परेपनि उनका पति चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ । उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए ।

कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर उभिएका छन् ।

यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डिआइजी बन्ने छन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डिआइजी बन्ने करिब निश्चित छ ।

यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए । उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डिआइजीका बलिया दाबेदार हुन । उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डिआइजी भइसकेका छन् ।

शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डिआइजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । रानाले त विभिन्न माध्यमबाट गृहमन्त्री र कांग्रेसका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जनाएको छ । उनी डिएसपी र एसपी हुँदा निकै विवादित भएका थिए ।

उनीहरू डिआइजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ । यो टोलीका दानबहादुर कार्कीसहित तीनजना पहिल्यै डिआइजी भइसकेकाले उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ ।

यो टोलीबाट डिआइजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् । दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज विभाजनमा पनि धेरै पटक अन्यायमा परेका अधिकृत हुन् ।

तुलनात्मक रुपमा इश्वर कार्की गोविन्द थपलिया तथा अरुण पौडेल कम विवादित मानिन्छन् । अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डिआइजी भइसकेका भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन् ।

एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ । यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डिआइजीका दाबेदार हुन् ।

त्यसमध्येका देउवा, रेग्मी र दासचाहि निकै विवादित एसएसपी हुन् । देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र र स्वाभाव र आर्थिक मामिलामा निकै कमजोर एसएसपीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्