नेपाली पत्रकारिताको इतिहासमा निरन्तर चार दशक पूरा गर्नु आफैँमा एउटा उपलब्धि हो । यो चालिस वर्षमा दृष्टि साप्ताहिकले राजनीतिका अनेकौँ मोडहरू पार गरेको छ । पञ्चायती निरंकुश शासनविरुद्ध मिशन पत्रकारिताबाट आफ्नो यात्रा आरम्भ गरेको दृष्टि साप्ताहिक ४१ वर्ष पूरा गरेर ४२ वर्षमा प्रवेश गरेको छ ।
यस अवधिमा नेपालको राजनीतिक इतिहास मात्र उल्टिएन, विश्व इतिहासमा पनि धेरै फेरबदल आयो । जनता नै अजय शक्ति हुन् भन्ने कुरा विश्वका जनताले मात्र होइनन्, नेपाली जनताले पनि स्थापित गरेरै छाडे । तर, व्यवस्था बदलिनुलाई मात्र परिवर्तन मान्न सकिन्न । त्यो व्यवस्थाले आम जनताको जीवनमा के परिवर्तन ल्यायो भन्ने कुरा राजनीतिक परिवर्तनको मुख्य सफलता हो । त्यसतर्फ राजनीतिक दलहरु असफल भएका छन् ।
नेपालको सन्दर्भ हेर्ने हो भने, नेपालको आर्थिक अवस्था यति दयनीय नहुनुपर्ने हो । नेपालमा जलस्रोत, कृषि र पर्यटनमा प्रचुर सम्भावना छ । तर सरकारको प्राथमिकतामा ती क्षेत्र नपरेकोले धनी देशका गरिब जनता हुन हामी बाध्य भएका छौँ ।
त्यसैगरी राजनीतिक व्यवस्था परिवर्तन भएसँगै भ्रष्टाचार अन्त्य भएर सुशासन कायम हुनुपर्ने हो । हरेक नेपाली जनतालाई बिहान र बेलुकीको छाक टार्न धौधौ हुनु नपर्ने हो । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत कुरा आम नेपालीको सहज पहुँचमा हुनुपर्ने हो ।
संविधानद्वारा प्रदत्त मौलिक हक कार्यान्वयन भएर देशले समृद्धिको बाटो समाइसक्नुपर्ने हो । तर, दुर्भाग्य, जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि आम नागरिकका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तै भएको छ ।
यो चालिस वर्षमा पञ्चायती व्यवस्था गयो, बहुदलीय व्यवस्था आयो । राजतन्त्र गयो, गणतन्त्र आयो । तर आम नेपाली जनताका लागि ती तन्त्रहरू ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भयो ।
नेपाली पत्रकारिताको इतिहासमा निरन्तर चार दशक पूरा गर्नु आफैँमा एउटा उपलब्धि हो । यो ४० वर्षमा दृष्टि साप्ताहिकले राजनीतिका अनेकौँ मोडहरू पार गरेको छ । पञ्चायती निरंकुश शासनविरुद्ध मिशन पत्रकारिताबाट आफ्नो यात्रा आरम्भ गरेको दृष्टि साप्ताहिक ४१ वर्ष पूरा गरेर ४२ वर्षमा प्रवेश गरेको छ ।
हिजो हात्तीछाप चप्पल लगाएर सिंहदरबार छिर्नेहरू आज अकूत सम्पत्तिका मालिक भएका छन् । ०४७ सालपछि प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेकका प्रधानमन्त्रीहरू कुनै न कुनै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सांसदको कुरै छाडौँ, देश ‘लुट कान्छा लुट’को अवस्थामा पुगेको सबैले अनुभूति गरेको कुरा हो
जुनसुकै पार्टीका नेता सत्तामा पुगे पनि उनीहरूको ध्यान कसरी कमाउने भन्नेमा केन्द्रित भएपछि देश र जनताले दुःख पाउने नै भए । आज देश नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण हरेक वर्ष लाखौंको संख्यामा युवा विदेशिन बाध्य भएका छन् । जसले यही देशमा केही गरौँ भन्ने भावना बोकेका छन्, तिनीहरूलाई देशको वर्तमान अवस्थाले निराश बनाएको छ ।
बंगलादेश र श्रीलंकाको घटना नेपालमा पनि दोहोरिने त होइन भन्ने सर्वत्र चिन्ता छाएको छ । राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता खतरामा पर्दै गएको छ । भूराजनीतिक चक्रव्यूहमा देश फस्दै गएको छ । त्यसबाट जोगाउने उपायको खोजीमा नेताहरू छैनन् । सत्ताका लागि विदेशी शक्तिको दलाली गर्न तँछाडमछाड गर्दैछन् ।
तै पनि, राजनीतिक दलका नेताहरू सच्चिन तयार छैनन् । जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो भएको छ । देशभित्रै उत्पादन गर्न सकिने फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, अन्न सबै आयातमा भर पर्नु परेको छ ।
देशको अर्थतन्त्र बिचौलिया, दलाल पुँजीपतिको हातमा छ । भएका उद्योगधन्दा पनि पूर्ण क्षमतामा चल्न सकेको छैन । मजदुर पलायनले विदेशी कामदार ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता छ । राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र कर्मचारीतन्त्रको भ्रष्ट मानसिकताले विदेशी लगानी पनि भित्रन सकेको छैन । प्रतिबद्धता खर्बौँ डलरको आए पनि कार्यान्वयन केही अर्बमा सीमित छ । विदेशी लगानी भित्र्याउने वातावरण सरकारले तयार गर्न सकेको छैन ।
वास्तवमा, भन्ने हो भने रेमिटेन्सको भरमा चलेको नेपाली अर्थतन्त्रले कति दिन देश धान्ला ? देशको अर्थतन्त्र भयावह अवस्थामा पुगिसक्दा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा कुनै पनि सरकारले ठोस कदम चाल्न सकेको छैन ।
युवा पलायन भएर गाउँ रित्तिएको कुराले शासकहरूको मन दुख्दैन, उल्टै खर्बौँ रेमिट्यान्स भित्रिएकोमा सरकार रमाइरहेको छ । खर्बौँ रेमिट्यान्स भित्रिए पनि आत्मनिर्भर अर्थतन्त्रमा उक्त रेमिट्यान्स उपयोग हुनुको साटो आयातमा रेमिट्यान्सको दुरुपयोग भइरहेको छ । देश बनाउने सोच कसैमा देखिएन । जो पनि लुट्नमै व्यस्त भएपछि देश कसरी बन्छ ?
०४७ सालदेखि अहिलेसम्मको राजनीतिक व्यवस्था असफल हुनुको मुख्य कारण भ्रष्टाचार र कुशासन नै हो । मुखले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लगाएर अबका युवाहरुले पत्याउनेवाला छैनन् ।
आजका युवाहरू परिणाममुखी कामको प्रतीक्षामा छन् । तर, राजनीतिक दलका नेताहरू भने, सत्ताकै लुछाचुँडीमा व्यस्त छन् । उनीहरूलाई युवाहरूको चिन्ताप्रति चासो छैन । दमन गरेरै सत्ता टिकाउँछु भन्ने भ्रम शासकहरूले पालेका छन् । जब जनता जाग्छन्, तब कुनै पनि तहको दमनले सत्ता टिक्दैन भन्ने कुरा श्रीलंका र बंगलादेशको उदाहरण काफी छ ।
मलाई लाग्छ, अब समय ढिलो भइसकेको छ । समय बलवान हुन्छ भन्छन्, कतै त्यो समयले नेपालको राजनीतिकलाई फेरि एकपटक प्रतिगमनतर्फ त पु¥याउँदैन ? सत्ताधारीहरूले गम्भीरताका साथ सोच्ने बेला आएको छ ।
अन्त्यमा, हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता सबैमा शुभकामना ।