Logo
Logo

भारतीय सेना प्रमुख आज नेपाल आउँदै


882
Shares

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल भ्रमणमा आउँदैछन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्नुहुने कार्यसूची रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।

यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्