Logo
Logo
टिप्पणी

प्रचण्डकाे अभिव्यक्ति आफैँलाई भारी


शरद् रिजाल

819
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्ति विवादित बनेको छ । उनले केही दिनअघि भारतीय पत्रिका ‘द हिन्दु’मा आफ्नो भारतीय पक्षधरता देखाउँदै आसन्न केपी शर्मा ओलीको चीन भ्रमण लक्षित टिप्पणी गरेका थिए ।

मुलुकको तीन पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले ओलीको यही मंसिर १७ गते हुन लागेको चीन भ्रमणलाई चिनियाँ कार्डको संज्ञा दिँदै भारतसँगकोे सम्बन्धलाई नै प्राथमिकता दिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले उक्त अन्तर्वार्तामा भारतसँगको सम्बन्धलाई चीन जानु अघि ओलीले विशेष ख्याल गर्नुपर्ने समेत उल्लेख गरेका छन् । अर्थात्, भारतीय पक्षको रुचि अनुरूप ओलीको विदेश भ्रमण तय गरिनुपर्थ्यो भन्ने प्रचण्डको आशय रहेको यसबाट प्रस्टै हुन्छ ।

प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेको पहिलो दुई देशीय भ्रमणलाई लिएर प्रचण्डले गरेको उक्त टिप्पणी अहिले सर्वत्र विवादित भएको छ ।

प्रचण्डको अभिव्यक्ति सार्वभौम मुलुकको लागि अक्षम्य भएको भन्दै चौतर्फी आलोचित बनिरहेको छ । एक स्वतन्त्र र सार्वभौम राष्ट्रको पूर्वप्रधानमन्त्रीले देखाएको भारत भक्तिलाई अशोभनीय र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै जनस्तरबाटै उनको विरोध भइरहेको छ ।

सत्तारुढ एमालेले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति नै जनाएको छ । एमालेले प्रचण्डको अभिव्यक्तिको घोर भत्र्सना गर्दै उक्त अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्ने प्रेस विज्ञप्तिमार्फत बताएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको यस अभिव्यक्तिले उनमा भारतीय पक्षधरता हालसम्मै कायम रहेको दर्शाउँछ । सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफ्नो इच्छा अनुसार जहाँ पनि भ्रमण गर्र्ने स्वतन्त्रता रहेको विषयलाई प्रचण्डले चिनियाँ कार्डको संज्ञा दिएर चीन भ्रमणको अवमूल्यन गरेका छन् ।

उनको यस अभिव्यक्तिले भारत पक्षधरता देखाएर दुवै छिमेकीसँगको सन्तुलित सम्बन्धमा खलल पार्न सक्ने भूराजनीतिका जानकारहरू बताउँछन् । स्वतन्त्र र सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफ्नो आवश्यकता र सन्दर्भ अनुरूप विदेश भ्रमण गर्ने विषयलाई प्रचण्डले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि चिनियाँ कार्डको संज्ञा दिएका छन् । यो प्रधानमन्त्रीको भ्रमण सहित छिमेकी गन्तव्य राष्ट्रको समेत उपेक्षा हो ।

राजनीतिक प्रतिशोध र क्षणिक दलगत लाभका लागि प्रधानमन्त्रीको विदेश भ्रमण जस्तो राष्ट्रिय महत्वको विषयलाई प्रचण्डले उपेक्षित गरेका छन् । एक छिमेकी देशको भ्रमणलाई चिनियाँ कार्डको आक्षेप लगाउनु भूराजनीतिक शक्ति सन्तुलनका दृष्टिले एक एउटालाई चिढाएर अर्कोसँग निकटता देखाउने प्रयत्न हो । यसले मुलुकलाई किमार्थ हित गर्दैन ।

उनी यस्तो आक्षेप लगाएर एक छिमेकी मुलुकसँगको सम्बन्धमा दरार ल्याएर भारतीय पक्षको निकटता देखाउन उद्यत देखिन्छन् । तर, भारतले पनि उनलाई पत्याउनेवाला छैन ।

प्रचण्डले त्यस अन्तरवार्तामा पराधिन मुलुकझैँ प्रधानमन्त्रीको स्वैच्छिक भ्रमणलाई कसैको निगाहा र अनुमति लिनुपर्ने आशयको अभिव्यक्ति दिएका छन् । हाम्रो भूराजनीतिक अवस्थिति र असंलग्न परराष्ट्र नीतिले पनि दुई देशबीच समान सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिँदै दुबैलाई समान महत्वकारुपमा हेर्दछ ।

तर, प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने र अन्यत्रबाट गर्दा भारतीय पक्षसँग सम्बन्ध बिग्रने अभिव्यक्ति असंलग्न परराष्ट्र नीति विपरीतको अभिव्यक्ति हो । यसमा उनले आफूमा कायम रहेको भारतभक्ति एवं दास मानसिकता उजागर गरेका छन् । एक स्वतन्त्र मुलुकको सार्वभौमिकताविरुद्धको अक्षम्य अभिव्यक्ति पूर्वप्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

नेपालका नेताहरूमा भारतीय पक्षसँग निकट नरहेर उनीहरूको निगाहा बिना सत्तामा टिक्न सकिन्न भन्ने निरीह मानसिकता विकास भएको छ । त्यही भाष्य पछ्याउँदै प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको पनि राजनीतिक वृत्तमा आकलन गरिएको छ ।

कुनै समय सत्ताको साँचो नयाँ दिल्लीमा रहेको अभिव्यक्ति पनि नेपालकै नेताहरूले दिने गरेका थिए । अहिले सत्ताबाट विमुख भएर छटपटिएका प्रचण्डले सोही रणनीति तय गर्न लागेका त होइनन् भन्ने आशंका समेत चुलिएको छ ।

हाम्रो भौगोलिक अवस्थितिले दुवै देशसँगको मित्रवत् सम्बन्ध राख्नुपर्ने दायित्वबाट प्रचण्ड विमुख भएर मुलुकको आन्तरिक राजनीतिक विषय विदेशी मिडिया समक्ष लाचार भएर प्रस्तुत गरेका छन् । उनको यस अभिव्यक्तिले नेपाल परनिर्भर मुलुक भएको स्वीकार गर्दै बाह्य हस्तक्षेपलाई आफैँ निम्त्याउने आशय प्रकट गरेका छन् । एक छिमेकीलाई रिझाउँदै अर्कोलाई चिढाएर मुलुकलाई थप भूराजनीतिक जटिलतातर्फ लैजाने प्रवृत्ति पनि उनको यस अभिव्यक्तिमा देखिन्छ ।

बाह्य शक्ति रिझाएर फेरि सत्तारोहणको सपना देखेका प्रचण्डले तल्लो स्तरमा गिरेर मुलुकको प्रतिष्ठा र राष्ट्रियता आँच पुर्याएर देखाएको भारतीय पक्षधरता सार्वभौम मुलुकका जनताका लागि अस्वीकार्य छ ।

यद्यपि ओली पनि भारतीय पक्षलाई चुनौती दिँदै दुई देशीय सन्तुलित सम्बन्ध कायम राख्ने हेतुले चीन भ्रमणमा जाने आँट गरेका भने अवश्य होइनन् । उनी पनि सुरुमै भारत भ्रमण गर्न चाहन्थे । यसका लागि परराष्ट्रमन्त्री आरजु राणामार्फत पहल गरे पनि आफूलाई भन्दा बढी राणालाई भारतीय पक्षले महत्त्व दिएपछि ओली बिच्किएका हुन् ।

आफ्नो भारत भ्रमणकै मोहमा भारतीय पक्षको उपेक्षा र भूराजनीतिक संकटले बाध्य भएर ओली चीनतर्फ जान लागेका हुन् । पहिलो विदेश भ्रमण भारतबाटै थाल्ने तयारी स्वरूप गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेको बेलामा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । तर सो भेटमा पनि मोदीले ओलीको भारत भ्रमणका लागि कुनै चासो नदेखाएपछि अन्ततः बाध्य भएर चीनतर्फ मोडिएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड पनि पहिलो पटक प्रधानमन्त्री हुँदा चीन पुगेका थिए । तर फर्किएपछि विमानस्थलमा लाचार भएर प्रधानमन्त्रीको हैसियतमा आफ्नो पहिलो विदेश भ्रमण भारतमै हुने घोषणा थिए ।

प्रचण्डको राजनीतिक पुनरोदयका रुपमा लिइने जनयुद्धकालीन समयमा पनि उनले भारतमै आश्रय लिएर बसेकाले उनमा भारत भक्ति कायमै रहेको बताइन्छ । सोही युद्धरत समयमा भारत बसेर त्यही भारतविरुद्ध सुरुङ युद्ध गर्न कार्यकर्तालाई उनले नेपालमा उक्साउने गर्दथे ।

उनकै नेतृत्वमासञ्चालित दश वर्षे जनयुद्धमा अधिकांश समय भारतमै बिताएका प्रचण्डले त्यस समयमा निकै भारत विरोधी अभिव्यक्ति दिएर त्यतै आश्रय लिएका थिए ।

पछिल्लो समय नेकपा सरकार ढालेर त्यही भारतीय पक्षलाई खुशी बनाउने मनशायले कम्फर्टेबल सरकार बनाउनेसम्मको अभिव्यक्ति पनि प्रचण्डले दिएका थिए ।

अहिले सोही पुरानै आश्रयदाताप्रतिको पक्षधरता कायमै राखेर सार्वभौम मुलकको प्रधानमन्त्रीको चीन भ्रमणलाई चिनियाँ कार्डको संज्ञा दिन समेत उनी पछि परेनन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारत र चीन दुबैसँगको समान सम्बन्ध कायम राख्न जोड दिनुपर्ने एकातिर पक्षधरता देखाएर आफ्नो आश्रयदाता प्रति भक्तिभाव प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्