काठमाडौं । सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपप्रति माफी मागेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत आफुले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै माफी मागेका हुन् ।
‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले भनेका छन्, ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’
सांसद बजगाँईले मन्त्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईं आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । सोहीक्रममा मंगलबार अनुशासन समितिले बजगाईंसँग स्पष्टीकरण समेत सोधेको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।