पुराना वामपन्थी नेता कमल कोइराला भन्छन् ‘कांग्रेस र एमाले सिद्धान्तबाट च्युत भएपछिको परिणाम देश र जनताले भोग्दैछन् ।’ दृष्टि साप्ताहिकको पूर्वप्रधान सम्पादक समेत रहेका कोइराला ‘अन्तरिम संविधान स्वीकार गर्नु नै जबजको परित्याग हो’ भन्छन् । ०७२ सालको संविधान जबजको मर्मअनुसार नभएको कोराइलाको भनाइ छ । पुराना वामनेता कमल कोइरालासँग दृष्टिले गरेको कुराकानी प्रस्तुत छ :
तपाईँ कसरी दृष्टि साप्ताहिकमा अचानक प्रधानसम्पादक भएर आउनुभयो ?
त्यो घटना पनि मेरो निम्ति पनि एकदम अचानक थियो । म प्रचार विभागको सदस्य थिएँ । मदन भण्डारी पार्टीको महासचिव हुनुहुन्थ्यो । झलनाथ खनाल प्रचार विभागको इन्चार्ज हुनुहुन्थ्यो । दृष्टिको तत्कालीन सम्पादक नारायण ढकाल हुनुहुन्थ्यो । खनालले भीम रावललाई प्रधानसम्पादक बनाउन खोज्नुभएको थियो ।
प्रदीप नेपाललाई त्यो कुरा कताकता मन परिराखेको थिएन । प्रचार विभागको बैठकमा प्रदीप नेपालले के भन्नुभयो भने, भीम रावललाई दृष्टिमा काम गर्ने पत्रकारहरूले मान्नुहुन्न । त्यही बेला मदन भण्डारी टुप्लुक्क आइपुग्नुभयो । र, तपाईंहरूको के छलफल चल्दै छ भनेर सोध्नुभयो । प्रदीप नेपालले भन्नुभयो–दृष्टिको प्रधानसम्पादक र छलफललाई समेत हेर्ने गरी छलफल चल्दै छ । भीम रावललाई दृष्टिको पत्रकारले मान्नुहुन्न ।
मदन भण्डारीले सोध्नुभयो– कसलाई मान्छन् त ? कमल कोइराला हुनुभयो भने सबैले मान्छन् भन्ने कुरा आयो । त्यसो भए कमल कोइरालालाई प्रधानसम्पादकमा नियुक्त गरौँ भन्नुभयो । झलनाथ खनालले चाहेको कुरा भइराखेको थिएन । खनालले के भन्नुभयो भने, महासचिवको उपस्थितिमा भएको प्रचार विभागको बैठकमा कमल कोइरालालाई प्रधानसम्पादकमा नियुक्त गर्ने निर्णय भयो भनेर माइन्यूटमा लेखौँ । खनालको कुरा भुईँमा झर्न नपाउँदै भण्डारीले के भन्नुभयो भने, प्रचार विभागको बैठकमा म कहाँको महासचिव ? म त घर जाने बेलामा के हुँदै रहेछ भनेर यसो हेर्न पो आएको ! भन्नुभयो र उहाँ हिँड्नुभयो । मदन भण्डारीको बचन भएपछि त्यो बेलामा ब्रह्म वाक्य, कसले त्यसलाई उलंघन गर्ने ।
तपाईँ आएपछि दृष्टिमा के सुधार भयो त ?
कालिमाटीमा प्रेस थियो–सुनकोशी । त्यो बेलामा पत्रिकाको मूल्य तीन रुपैयाँ थियो । लेटरप्रेसमा छापिन्थ्यो । त्यो बेला मैले सबै साप्ताहिकले चार रुपैयाँ गरेका छन्, दृष्टिको पनि चार रुपैयाँ बनाऔँ भनेर प्रस्ताव गर्दा प्रकाशक शम्भु श्रेष्ठले, म्याटर पनि राम्रो दिनुप¥यो नि । पहिला अपसेट प्रेसमा जानुपर्छ भन्ने उहाँको धारणा थियो । तर, पार्टीको प्रेस भएका कारण मैले आँट गरिनँ किनकि, त्यो पत्रिका र प्रेसमा लगानी पार्टीको थियो ।
अष्टलक्ष्मी शाक्य, सुशीला श्रेष्ठलगायतले सुन धितो राखेर प्रेस राखेको भन्ने सुनिन्थ्यो । म प्रधानसम्पादक भएपछि ३ अंक सुनकोशीबाट निस्कियो । एकदिन आउँछु त दृष्टिको अफिसमा न शम्भु श्रेष्ठ, न किशोर श्रेष्ठ, न रविन सायमी कोही छैनन् । खोइ त साथीहरू भन्दा मान्छेहरू छक्क परे । उनीहरूले के भनिठानेँ भने, यसले नभनी यिनीहरू हटे । त्यो एक किसिमको विद्रोह थियो भन्ने लाग्छ । पेपरप्रतिको लोयल्टी थियो त्यो । म आएपछि अफसेटबाट दृष्टिको प्रकाशन सुरु भयो र बिक्री पनि ह्वात्तै बढ्यो ।
तपाईँ प्रधानसम्पादक भइसकेपछि मदन भण्डारीबाट कस्तो खाले निर्देशन दिन्थ्यो ?
मदन भण्डारी आफैँ बहुदलीय जनवाद मान्ने मान्छे । दोस्रो, पाँचौँ महाधिवेशनको तयारी हुँदै थियो । केन्द्रीय कमिटीले के निर्णय ग¥यो भने, खुला विचार प्रकट गर्ने । त्यस्तो कुनै पनि कम्युनिष्ट पार्टीमा भएको थिएन । सैद्धान्तिक मतभेदहरू बहसको रुपमा खुला रुपमा दृष्टिमा प्रकाशित हुन थाल्यो । मदन भण्डारी पनि आफ्ना लेख लिएर आउनुहुन्थ्यो । मेरो छापिनुपर्छ भनेर सीपी मैनाली पनि आउनुहुन्थ्यो । मोहनचन्द्र अधिकारी पनि आउनुभयो । पाँचौँ महाधिवेशनसम्म त्यो क्रम चल्यो । त्यसपछि फेरि बहसको त्यो शृंखला लोप भयो ।
तपाईँको कार्यकक्षमा मदन भण्डारी आएर बसिरहेको पनि देखिन्थ्यो नि ?
मदन भण्डारी दृष्टि अफिसमा आएर आफैँ लेख्नुहुन्थ्यो । त्योभन्दा पहिला एउटा घटना भइसकेको थियो । पाँचौँ महाधिवेशनको तयारी सुरु भइसकेको थियो । किशोर श्रेष्ठले मदन भण्डारीको अन्तर्वार्ता लिए । त्यसको शीर्षक के राखिदिए भने, ‘कसैले मेरो कुरासँग टक्कर लिन्छ भने म पनि सामना गर्न तयार छु’ । बहुदलीय जनवादको अवधारणा के थियो भने, डेमोक्रेशीको स्वीकृति । पहिला त्यो कुरा छाप्दा बहुदलीय जनवाद मात्रै थियो । त्यसको निकै विरोध भयो ।
प्रेस स्वतन्त्रताको पक्षमा हुनुहुन्थ्यो मदन । निर्वाचन घोषणापत्र तयार पार्ने बेलामा बहुदलीय निर्वाचन प्रणालीलाई आत्मसात् गर्नुपर्छ भन्ने थियो । मैले भने, बहुलवादलाई पनि अपनाउनुपर्छ । त्यसपछि ०४८ सालको चुनावी घोषणापत्रमा बहुलवादिता भन्ने शब्द पनि परेको छ । मदनले समयको कुरा बुझ्नुभयो । पाँचौँ महाधिवेशन त त्यसपछि न भयो । त्यो भन्दा अगाडि जबजका विषयमा ‘दृष्टि’मा धेरै बहस, छलफल सुरु भयो । पाँचौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रस्तुत भयो ।
मदन भण्डारीको जबजलाई मुल मन्त्र मानेर एमाले हिँडेको छ । एमालेले जबजको प्रयोग गरिरहेको तीन दशक भयो । यसको मूल्यांकन कसरी गर्नुहुन्छ ? मदनको सोच के थियो, आज केपी ओलीको सोच के छ ?
मदन भण्डारीको जबज संसदीय प्रजातन्त्रको स्वीकृति थियो । प्रतिस्पर्धात्मक निर्वाचनद्वारा जनताले हामीलाई सत्तामा पु¥याए भने सरकार सञ्चालन गर्छौँ । यदि, बहुमत दिएनन् भने हामी सत्तामा हुँदैनौँ । मान्छेले पढ्दै पढेनन्, खाली जबज, जबज मात्रै भने । अन्तरिम संविधान स्वीकार गर्नु नै जबजको परित्याग हो । ०७२ सालको संविधान जबजको मर्मअनुसार छैन ।
भनेपछि एमालेले जबज परित्याग गरिसक्यो ?
प्रत्यक्ष देखिराख्नुभएको छ । यो संविधान जबजको अनुकूल छ त ? छैन । बिपी कोइरालाको संसदीय प्रजातन्त्रको अनुकूल पनि छै्रन । आफ्नो सिद्धान्त, विचार कांग्रेसले पनि छोड्यो, एमालेले पनि छोड्यो ।
कांग्रेस र कम्युनिष्ट सिद्धान्तबाट च्युत भइसके त ?
जगले देखिराखेको छ । आज संसदीय प्रजातन्त्र छैन । ४० प्रतिशत सांसद अप्रत्यक्ष निर्वाचित छन् । भारतमा अनिर्वाचित पनि प्रधानमन्त्री हुन पाउँछ, ६ महिनासम्मका लागि । तर, जनताद्वारा प्रत्यक्ष निर्वाचित लोकसभामा सदस्यले मात्रै विश्वास गर्नुपर्छ । मनोनितले पाउने त कुरै आउँदैन । यहाँ त राज्यलक्ष्मी गोल्छाले पनि सांसद बन्ने हैसियत पाएकी छिन् । ल्हारक्याल लामाले पनि मन्त्री बन्ने हैसियत पाएका छन् । यो पतन हो । वीपीको प्रजातन्त्र र शेरबहादुर देउवाको प्रजातन्त्र एउटै होइन । त्यसरी नै मदन भण्डारीको जबज र खड्गप्रसादको जबज एउटै होइन ।
एमालेले त अहिले दुई पार्टी सिस्टमको कुरा पनि गरिरहेको छ ?
कल्पना गरेर मात्रै हुन्छ ? त्यो जबजको विपरीत मात्रै होइन, संसदीय प्रजातन्त्रसमेत नमान्नेले कसरी दुई पार्टी सिस्टम गर्न सक्नुहुन्छ ? प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा भयो भने मात्रै दुई पार्टी सिस्टममा जान सकिन्छ । यो प्रणाली रहेसम्म त्यो असम्भव छ । कि त यो निर्वाचन प्रणाली नै खारेज गर्नुप¥यो ।
कांग्रेस र एमालेले सिद्धान्त, नीति, विचार सबै परित्याग गरिसके भन्नुभयो । कांग्रेस र एमाले मिलेरै गणतन्त्रसम्मको यात्रा तय गरे । माओवादीलाई शान्ति प्रक्रियामा ल्याए । अहिले जुन किसिमको असन्तुष्टि, अराजकता देखिएको छ । जनताले लोकतन्त्रको प्रतिफल पाएनौँ भनिराखेका छन् । कांग्रेस र एमाले सिद्धान्तबाट विमुख भएकै कारण यो स्थिति आएको हो त ?
अर्को कुरा पनि हेर्नुस्, १० वर्षे माओवादी जनयुद्ध कहाँ आधारित थियो, भारत आधारित थियो । भित्रीरुपमा दिल्लीमा १२बुँदे सहमति भयो । त्यसअन्तर्गतको यो संविधान हो । यो संविधानलाई अण्डरराइट भारतले गरेको छ । कांग्रेसका लक्ष्मण घिमिरेले भारतीयहरुले राजतन्त्र समाप्त पार्न खोज्दै छन् भन्ने हल्ला सुन्नुभएछ । उहाँ गिरिजाप्रसाद कोइरालाकहाँ पुग्नुभएछ र भन्नुभएछ–संवैधानिक राजतन्त्र हटाउने भन्ने कुरा सुन्दैछु ।
गिरिजाप्रसादले भन्नुभएछ–कहाँ हुन्छ यस्तो ? हुँदैन । तपाईंलाई कसले भन्यो ? उहाँ अरु कुरा गर्न खोज्दै हुनुहुन्थ्यो, भारतीय राजदूत मलाई भेट्न आउँदै छन् । भोलिपल्ट त स्वयं गिरिजाप्रसादले नै राजतन्त्र अन्त्य गर्ने प्रस्ताव राख्नुभयो । त्यसपछि घिमिरेले यो खेल कहाँबाट भएको रहेछ भन्ने बुझ्नुभयो । यो कुरा लिखितै छ ।
भनेपछि, नेपालको राजतन्त्र हटाउन भारतको प्रत्यक्ष भूमिका देखियो ?
ठाँडै देखिएको छ । श्यामशरणको लिखितै आइसकेको छ । ‘हाउ इन्डिया सिज र वल्र्ड’ भन्ने किताबमै सबै कुरा उल्लेख छ नि ।
अनि फेरि अहिले संविधान संशोधन गर्ने नाममा कांग्रेस र एमालेको सरकार बनेको छ । कतै राजतन्त्रलाई फर्काउन यी दुई पार्टी मिलेका त होइनन् ?
यी मिल्दैनन् । राजतन्त्र भारतले हटायो । गणतन्त्रवादी भावना नेपालमा नभएको होइन । गिरिजाप्रसाद कोइराला, मदन भण्डारीले संवैधानिक राजतन्त्र मानेकै हो । असंवैधानिक नबन भनेर मदन भण्डारीले ‘शासनै गर्न मन छ भने श्रीपेच फुकालेर चुनाव लडेर आउ’ भनेर राजालाई भनेकै हो । कांग्रेस र एमालेले संसदीय प्रजातन्त्र छाडे । सबै कुरा छाडे ।
फेरि अर्को, टाइमिङ हेर्नुस् न, तत्कालीन राजा ज्ञानेन्द्रले ढाका सार्क सम्मेलनमा चीनलाई परिवेक्षक सदस्य बनाउनुपर्छ भनेपछि भारतका तत्कालीन कार्यवाहक प्रधानमन्त्री प्रणव मुखर्जीले भनेका थिए–नेपालका जनताले मान्दैनन् भने हामीले किन संवैधानिक राजतन्त्र भनिराख्ने । भन्न त उनले यो कुरा कूटनीतिक रुपमै भने । त्यो पनि किताबमै आइसकेको छ । ०६३ सालको आन्तरिक संविधान र ०७२ सालको संविधान प्रजातन्त्रप्रतिको प्रतिगमन हो । संवैधानिक राजतन्त्र मात्रै होइन, संसदीय प्रजातन्त्र पनि समाप्त पारियो ।
यसलाई सुधार्न संविधान संशोधनको कुरा आइराखेको छ नि त ?
यदि, दलहरू इमानदार छन् भने प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बनाउनुपर्छ । सांसद, राजदूत बनाएर यिनीहरूलाई पैसा कमाउनु छ । देखिराखेको छ नि ।
यी सबै विकृति, विसंगति हटाउन मिडियाको भूमिका के हुनुपर्छ ?
मिडियाले त्यसको पक्षमा बहस गर्नुपर्छ । बहस गरिराखेका पछि छन् । नैतिक पतन भएपछि मिडियाको कुरो पनि सुन्न छाडे । छाडा रुपमा भ्रष्टाचारमा लिप्त भएकै कारण नयाँ पार्टीहरु जन्मिएका हुन् । अर्को कुरा मिडिया पनि कताकताबाट सञ्चालित छन् भन्न सकिन्न । मिडियामा लगानी सिरोहियाको छ, कुनै ज्ञवालीको होला । मिडिया पनि एउटा साइड बिजनेस भएको छ । कैलाश सिरोहियाको अनेक धन्दा छन् । अनि यिनले लेखेका कुरा कसरी पत्याउने ?
भनेपछि अहिले मिसन पत्रकारिताको आवश्यकता झन् टड्कारो रुपमा देखा परेको छ ?
मिसन पत्रकारिता जहिले पनि चाहिन्छ । इमानदार शासन हुनुप¥यो । देशमा भ्रष्ट मात्रै छैनन्, प्रजातान्त्रिक सिद्धान्तबाट च्युत भएका मात्रै छै्रनन्, षडयन्त्रकारी पनि छन् । एउटा नयाँ पार्टी निस्कियो । त्यसले पहिलो चुनावमै साढे १० लाख भोट ल्याइदियो । पुराना दलहरूप्रति जनतामा वितृष्णा भएको हो । त्यसको कारणले नै भोट त्यतातिर ट्रान्सफर भएको हो । यो क्रम अझ बढ्दो छ ।
तपाईँको रवि लामिछानेको पार्टीलाई भन्न खोज्नुभएको हो ? राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य देख्नुहुन्छ ?
यसको भविष्य भएन भने लुटतन्त्रको नै भविष्य रहिरहन्छ । कमसेकम उसले भ्रष्टाचार विरोधी एजेन्डा लिएर हिँडेको छ नि ।
त्यो पनि सत्तामा जाँदा बिर्सने, सत्ता बाहिर हुँदा सम्झने । अन्य पार्टीको जस्तो भएन चरित्र ?
इमानदार मान्छे अरू पार्टीमा पनि छन्, राष्ट्रिय स्वतन्त्र पार्टीमा मात्र छन् भनेर म भन्दिनँ । भुटानी शरणार्थी काण्डको नारायणकाजी श्रेष्ठले सुरु गरेको होइन ? रवि लामिछानेले त्यसलाई अगाडि बढाएको हो । अनि, रवि लामिछानेलाई गृहमन्त्रीबाट किन हटाउनुप¥यो भने उनले बेचन झालाई पक्रेर काठमाडौं ल्याए ।
बेचन झालाई पक्रेर काठमाडौं ल्याउँदैमा गृहमन्त्रीबाट हटाउनुपर्छ त ?
प्रहरी त गृहमन्त्रीको खटनमा रहन्छ । बयान त गृहमन्त्रीको हातमा जान्थ्यो । आरजु म्याडम सोझै फस्नेवाला हुनुहुन्थ्यो । मञ्जु खाण सोझै फस्नेवाला हुनुहुन्थ्यो । अनुसन्धान चलिराखेको थियो । त्यो अनुसन्धानलाई कसरी प्रभावित पार्ने भन्ने हो । आरजुको अनुसन्धान हुनुपर्ने ठाउँमा रविको अनुसन्धान भयो । हाम्रो साढे १० लाख भोट चोर्ने यो पार्टीलाई कसरी बर्बाद पार्न सकिन्छ भन्ने हो । काठमाडौँको १० सिटमध्ये पहिला एमालेले धेरै सिट जित्थ्यो । अहिले १ सिटमा सीमित भयो ।
भनेपछि कांग्रेस र एमालेप्रति जनताको चर्को वितृष्णा छ ?
जहाँ अलि प्रबुद्ध वर्ग बस्छन्, त्यहाँ त देखिरहेको छ नि । हुँदाहुँदा कुलमान घिसिङले राम्रो काम गरिरहेकोमा सरकारले नै बाधा हालेको छ । यो कसको दलाली ? यो व्यापारीहरूसँग खुला दलाली होइन ? लोकतन्त्रमा यस्तो लुटतन्त्र पनि चल्छ ।
अलिकति व्यक्तिगत रुपमा जाऔँ, तपाईँ फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सदको समयमा म मान्छेहरूसँग फेसबुकमा बस्छु । रमाइलो गर्दै हिँड्छु । मान्छेहरूसँग सोसलाइजेसन गर्छु । सम्पर्कमा रहन्छु । सामाजिक सञ्जालबाट मानिसहरूको अभिव्यक्ति बुझ्छु । आफूलाई मन नपरेको कुरा फेसबुकमा लेख्छु ।
यो उमेरमा पनि तपाईँले लेखनकलालाई जीवितै राख्नुभएको छ ? धेरै पुरानो कुरा सिन भन्नुभयो । उमेरले स्मरणशक्तिमा ह्रास आउँदैन ?
लाइफस्टाइल अलिकति चेन्ज गर्नुपर्छ । तपाईँले खाना थारै खानुस् । खाना धेरै खानाले तपाईँको पेट लाग्न थाल्यो भने अनेक रोग लाग्छ, बरु थोरै खानुस्, तीन÷चार टाइम खानुस्, जे पनि खानुस् केही छैन । सकारात्मक सोच राख्नुस् । जिन्दगी कसरी खुसी भइन्छ भन्ने बिर्सनुहुन्न । सुखी हुनका लागि डराउनुहुन्न । मन नपरेको कुरा निर्धक्क लेख्नुस् ।
तपाईँको बुबा मातृका प्रधानमन्त्री हुनुभयो कांग्रेसको । बिपी कोइराला कांग्रेस, गिरिजाप्रसाद कोइराला कांग्रेस । त्यो परिवारको कमल कोइराला एक्लो कम्युनिष्ट हुनुभयो । त्यसमा के को प्रभाव थियो ?
मलाई एकचोटी केटाकेटीमा आमाले सोध्नुभयो– तँ ठूलो भएपछि के गर्छस् ? नाम कमाउँछस् कि पैसा कमाउँछस् ? मैले नाम कमाउँछु भनेँ । आमाले के भन्नुभयो भने–नाम कमायो भने भात कसले खान दिन्छ नि ? मैले भनेँ– नाम कमायो भने भात जसले पनि खान दिन्छ । राजनीतिमा लाग्छु भन्ने थियो । यति हो कि अलि फरक राजनीतिमा लागेँ ।
पत्रकारिता कहिलेदेखि सुरु गर्नुभयो ?
मेरो पहिलो लेख २०१५ सालमा छापिएको थियो, जनमत साप्ताहिकमा । जनमतमा शैलेन्द्रकुमार उपाध्याय सम्पादक, महेशप्रसाद उपाध्याय, हरिहरप्रसाद उपाध्यायलगायतको सम्पादन मण्डल थियो । त्यो सम्पादन मण्डलमा मेरो नाम थिएन । बीएमा मेरो विषय इकोनोमिक्स थियो । मैले बीए पास पनि गरिसकेको थिइनँ । अर्थशास्त्रमा बीए पढेको भनेपछि बजेटबारे यसैपनि लेख्न सक्छ भन्ने भयो, उहाँहरूले त्यो पनि पढ्नुभएको थिएन ।
बुबा प्रधानमन्त्री भएको बेला तपाईँ जेल पर्नुभयो ?
परेँ, त्यो त न्यूयोर्क टाइम्सदेखि लिएर समाज, नयाँ समाज सबैमा प्रकाशित छ ।
जिन्दगी तपाईँले लोकतन्त्रका लागि बिताउनुभयो ?
आज पनि लोकतन्त्रका लागि लडिरहेको छु । लेख्ने काम गरिरहेको छु ।