कैलाली । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी रूपमति डगौरा थारुले बुधबार मध्यान्ह उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।
अनुसूची ९ बमोजिम टीकाकुमारीलाई आजै जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उनको भनाइ छ ।
मंसिर २ गते उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमति डगौरा थारुले उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसकी टीकाकुमारीलाई नेकपा एमालेले समर्थन गरेको थियो । कैलालीका १३ वटा पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी २५ जना मतदाताहरूमध्ये नेपाली कांग्रेसका ८, नेकपा एमालेका ५, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ जना हुनुहुन्छ ।
कांग्रेस(एमालेकै स्पष्ट बहुमत पुग्ने देखिएकोले नागरिक उन्मुक्तिकी रूपमतिले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।