काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिएको सबै स्थानीय तहमा प्रचार-प्रसार गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीले उम्मेदवारी दिएको सबै स्थानीय तहमा पुगेर पार्टीको अवस्थाबारे जानकारी गराउने निर्णय भएको बताए ।
‘अहिले स्थानीय तहको उपनिर्वाचन हुँदै गर्दा हामीले उम्मेदवारी दिएको सबै जिल्ला, निकाय, तह र वडामा पुगेर पार्टीको उपस्थिति, पार्टीको राजनीतिक अभियान सबै जानकारी गराउने छौं’, उनले भने ।