काठमाडौं । स्थानीय तहको रिक्त ४४ पदको उपनिर्वाचन हुँदै गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको निर्वाचन सबैको नजरमा परेको छ ।
यो नगरपालिकाको मेयर पदका लागि ११ जना स्वतन्त्र उम्मेदवारसहित २० जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राध्यापक डा. शिवशरण महर्जन र राप्रपाबाट ई. धुव्र महर्जनसहित विभिन्न दलहरूबाट ९ जनाले उम्मेदवारी दिएका छन् ।
काँग्रेससहित मेयरमा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारले जित निकाल्ने दाबी गरेका छन् । संघीय राजधानी काठमाडौंकै स्थानीय तहमा हुन लागेको यो निर्वाचनलाई सबै दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले लालकिल्लालाई कांग्रेस किल्ला बनाएको उल्लेख गर्दै जित्ने दाबी गरेका छन् । गत निर्वाचनमा कांग्रेस मेयरसहित ९ वडामा अध्यक्ष जितेको थियो । कांग्रेसले वडा–१ मा इच्छा महर्जन र ४ मा राजेन्द्र बानियाँ उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा यस पालिकामा पराजय भोगेको एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर हारको बदला लिने दाउमा छन् ।
यता, माओवादी केन्द्रले कीर्तिपुरमा तीन दलसँग चुनावी तालमेल गरेको छ । माओवादीले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपासँग तालमेल गरेको छ ।
माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका शिवशरण महर्जनले सुशासन कायम, भ्रष्टाचार विरोधी एजेन्डा नै आफ्नो चुनावी नारा रहेको सुनाए । माओवादी केन्द्रका उम्मेदवार महर्जनले कीर्तिपुरको विकास निर्माणका कार्यमा लामो समयदेखि उल्लेखनीय भूमिका खेलेको महर्जनको दाबी छ । प्रचण्ड प्रधानमन्त्री रहेको बेला गरेका सुशासनका कार्यले माओवादीलाई चुनावमा लाभ पुग्ने उनले बताए ।
गत निर्वाचनमा भन्दा यो निर्वाचनमा कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूको संख्या बढी छ । तर ७९ सालको संघको निर्वाचनमा अप्रत्याशित जित हासिल गर्दै संसदको चौथो ठूलो दल रास्वपाले भने अन्य सबै ठाउँमा भाग लिँदा कीर्तिपुर नगरपालिकामा प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
यसलाई रास्वपाको शक्ति कमजोर बनेको आंकलन हुन थालेका छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए ।
नकर्मीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा आफैले जितेको ठाउँ सुरक्षित गर्न कांग्रेस सामु ठूलो चुनौती खडा भएको छ ।