काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । यादवको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासमा पेसी तोकेको छ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाँल, टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको इजलासमा ३ नम्बरमा पेसी परेको छ । यादवको मुद्दा संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै २०८१ भदौ १३ गते पूर्ण इजलासमा पठाएको थियो ।
पूर्णमा पठाएपछि यो विवादमा सुनुवाइ हुन सकेको छैन । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न भ्याएनन् ।
यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको थियो ।