दिनहरू एकनास हुँदैनन् । लेख्न थालेपछि जापानी साथीहरूको करैले पनि लेख्नै प¥यो, लेखिरहेकै थिएँ । झन् नर्वेजियन साथी टोरीको चिठी पाएपछि त म साँच्चै खुसी भएँ– उनले नर्वेकै ‘यूथ न्यूजपेपर’मा मेरो लेख छापिने कुरा लेखेकी थिइन् ।
कुमारीको बारेमा लेखेको त्यो लेखको पारिश्रमिक पनि सोचेको भन्दा धेरै रहेछ । म त खुसीले नाचेँ पनि । साथीहरू त रहेछन् नि, पैसा पो छैन ! पैसाको भन्दा त मित्रताकै आयु लामो हुन्छ । जापान, नेदरल्याण्ड्स् र अब नर्वेका पत्रिकामा समेत मेरा लेख छापिनु मेरो निम्ति लेखन क्षेत्रमा ठुलो फड्को थियो । देशभित्र त लेखेपनि कहिल्यै पारिश्रमिकको आशाले लेखिएन ।
हाम्रो देशमा लेखकलाई पैसा पनि दिनुपर्छ भन्ने सोचको विकास पनि भइसकेको थिएन त्यो बेला । म लेखक नै हुन्छु भनेर सोचेकै पनि थिइन ।
लेखक हुनु भनेको स्वतन्त्र हुनु पनि हो । मनमा उठेका विचार भावनाहरूलाई मनको साँघुरो गुफामा थुनिराख्नुको सट्टा कागजका पानाहरूमा पोखेर बाँड्न पाउनु, अझ विश्वमा छर्न पाउनुको महत्व भिन्दै हुने नै भयो ।
यो सबैको श्रेय विभिन्न देशका मेरा उदार साथीहरूलाई जान्छ । विभिन्न देशका असल साथीहरू समयले जुराइ दिएको रहेछ । टोरीको चिठीले मलाई निकै भावुक बनायो ।
आफ्नो देशमा जीवित देवी मानिने कुमारीको बारे लेख्नु पनि अचम्मको संयोग नै थियो । एकजना अरबी साथीले –“लु तिम्रो देशको देवीको कथा पढ’’ भनेर दिएका थिए । अरबी भाषामा लेखेको कथा त मैले बुझ्ने कुरै थिएन । तर, फोटोहरू पनि छापिएका रहेछन् । ती फोटोमा भएकी कुमारी र उनका छोराछोरीलाई म राम्रैसँग चिन्थें ।
कुमारीसँग त बाल्यकालमा कुमारीघरमै गएर खेलेको पनि थिएँ । वसन्तपुर र झोछें त एकै ठाउँ भने पनि हुन्छ । त्योबेला कुमारीघरमा पनि नजिकका बच्चीहरूलाई आउन जान दिन्थे । कहिले खेल्दै कुमारीको घरसम्मै पुगेर कुमारीलाई भेट्न पनि जान्थेँ ।
त्यो बेलाकी कुमारीको उमेर मेरै जस्तो थियो । पछि ती कुमारी फेरिने बेलासम्ममा म पनि अलि ठुली भएँ । कुमारीघरमा जान पनि छुट्यो ।
धेरै समयपछि ती कुमारीको बिहे पनि भयो । कुमारीको बिहे हुन गाह्रो हुन्छ भन्ने भनाइ थियो । तर, त्यो कुरालाई पनि समयले बढारेर उनको राम्रो पारवारिक जीवन सुरू भयो । ती कुमारीको नामै चाहिँ मैले बिर्सिसकेँ ।
कुमारी हन्जेल सबैले उनलाई देवीकै रुपमा सम्बोधन गर्थेँ । पछि नामैले सम्बोधन हुन थालेपछि, बिहे भएर छोराछोरी पनि जन्मिसकेपछि संयोगले उनीसँग फेरि भेट भइरह्यो ।
मैले केही वर्ष पढाएको स्कूलमा उनका तीनवटा बच्चाहरू पनि पढ्थे । दुइटी छोरी, एउटा छोरा थिए । अब त ती पनि परिपक्व गृहस्थ भइसके होलान्– साढे तीन दशकभन्दा अघिको कुरा भइसक्यो । त्यो अरबी पत्रिकाको फोटोमा भने ती अझै बच्चै थिए, अझै स्कूलकै युनिफर्ममा थिए ।
भाषा नबुझे पनि त्यो फोटो देखेर मलाई रमाइलो लाग्यो । र, यसले मलाई लेख्ने विषय पनि दियो । मेरो नियमित लेखनको त्यो अंकमा कुमारीकै विषय छानेँ ।
बाल्यकालको आफ्नो अनुभव र कुमारीसँग खेल्न पाएको कुरा, अनि पछि तिनै कुमारीका बच्चाहरूलाई आफैले पढाउन पाएको कुरा विदेशीका निम्ति नौलो हुने नै भयो । त्यो लेखले कुमारीको बारेमा अझै बढी थाहा पाउन चाहनेहरूका निम्ति बाटो खोलिदिएजस्तो पनि भयो । त्यसैले पनि त्यो लेख विदेशी साथीहरूले रुचाए । त्यही लेख टोरीको मद्दतले नर्वेमा छापिएको थियो ।
नियमित लेखनले मलाई अझै बेफुर्सदी त बनायो, तर लेखनकै मार्फत अझै बढी साथीहरू पनि बने । विदेशमा असल साथीहरू पाउनु, ती साथीहरूले मेरो देशप्रति चाख राख्नु, मेरो व्यक्तिगत कठिनाइलाई समाधान गर्नसमेत साथ दिनु– यति नै पनि राम्रो थियो ! अझ ती साथीहरुले त हाम्रो देशको लोकतान्त्रिक आन्दोलनप्रति नै निःस्वार्थ निश्छल ऐक्यबद्धता पनि देखाएका थिए ।
त्यो बेला देशमा २०४६ सालको आन्दोलन चलिरहेको थियो । अहिले जस्तो हात–हातमा मोबाइल फोन थिएन । इन्टरनेटको जमाना आउनु अघिको कुरा हो । पुस्तक र पत्रपत्रिकामा छापिएका समाचारहरू पढेर मात्र अरु देशका बारे केही थाहा हुन्थ्यो । त्यस्तो समयमा नेपालबारे जान्न चाहनेहरूका निम्ति लेख्न पाएकी थिएँ र साथी कमाएकी थिएँ ।
टिभी हेर्न पाइन्थ्यो । टिभीमा आउने समाचारले कहिले आशा जाग्थ्यो, कहिले मन पोल्थ्यो । देशका हरेक घटना आफ्नो जीवन र सपनासँग जोडिएका कुरा हुन्थे ।
छिटोभन्दा छिटो सकारात्मक परिवर्तन होस् भन्नका निम्ति आफै पनि धेरै लागिएको थियो । कतिले जीवनको आहुति दिइसकेका थिए, धरपकड व्याप्त थियो । बन्दीगृह भरिँदै थिए । हामी विदेशमा बसेर चुपचाप निदाउन सक्ने अवस्था थिएन । कति साथीहरूले नेपालको खबर सुनेर हामीलाई सहानुभूति दिन्थे । कतिले आ–आफ्नो देशमा समाचार नै पठाइदिन्थे र यसरी नेपालको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्ने र जुराउनेसमेत काम गर्थे ।
साथीहरूको मैत्रीभावले हामी देशबाहिर भए पनि एक्लो अनुभव भएन । यतिखेर दुरबिनबाट टाढाको विगतलाई हेरिरहे झैँ लाग्छ । नेपालमा होस् वा छिमेकी चीनमा, ठूलो परिवर्तन देख्न पायौँ ।
चीनको भौतिक परिवर्तनले त्योबेला नै संसारलाई नै चकित पार्न थालिसकेको थियो, अहिले त झन् हामीले देखेको चीन कहाँ पुगिसक्यो, कहाँ ! हाम्रै देशमा पनि त्यतिबेला असम्भव जस्तो लाग्ने पञ्चायती व्यवस्था ढल्यो, राजतन्त्र नै गयो, मानिसका जीवन शैलीमा मात्र होइन, सोँचमा पुरै परिवर्तन आइसकेको छ ।
सबै नै सोचेजस्तो त भएन, तर त्यो बेलामा देशको निम्ति भनेर जे जानिएको थियो, जे बुझिएको थियो, ठूलै खतरा मोलेर पनि देशमा होस् वा विदेशमा बसेर गर्न सक्ने जति गरियो । मनमा एउटा सन्तोष त छ नै । तर, कुनै पनि काम आफूले मात्र गरेको भन्न मिल्दैन । देशमा हुँदा गरेका काम आफ्ना साथीहरूको सहयोग र संलग्नता बिना सम्भव हुने थिएन ।
विदेशमा हुँदा जे गरियो, त्यो पनि त्यहीँका साथीविना सम्भव हुने थिएन । साथीहरूको सहयोग सद्भावनालाई बिर्सेको छैन । आपद विपदको बेलामा सहयोग गर्ने आत्मीय मित्रहरूलाई त झन् कहिल्यै नबिर्सिने रहेछ ।
मित्रताबारे चिन्तन गर्दा अहंकार घट्दो रहेछ, आफू विराट अस्तित्वको अंग भएजस्तो लाग्दो रहेछ । कृतज्ञताले मनलाई सफा पारिरहँदो रहेछ । साथीहरूप्रति, जीवनप्रति, यो पृथ्वी र प्रकृतिप्रति सधैँ कृतज्ञ बनिरहन सकूँ ! सबैको जय होस् !