काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि दिएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ । चेक दिएको करिब ४० दिनपछि कोषमा रकम जम्मा भएको हो ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि ठूलो जनधनको क्षति भएपछि पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरूले असोज २० गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
उक्त चेकमा कार्तिक ८ गतेसम्म मिति राखिएको थियो । तर, उक्त मितिमा पनि रकम जम्मा भएन । लामो समयसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कांग्रेसले दिएको चेक जम्मा नभएपछि कांग्रेसको आलोचना सुरु भएको थियो । कोषले सार्वजनिक गरेको विवरणमा गत कार्तिक ३० गते भने कांग्रेसले दिएको चेक जम्मा भएको देखिएको छ ।