Logo
Logo

महोत्तरीमा सीडीओ लालबाबुको आगमनपछि तस्कर र माफियाको भागाभाग


2.6k
Shares

जलेश्वर । बिहान झिसमिसेमै उठ्छन अनि दैनिक नित्यकर्म सकिएसँगै शान्तिसुरक्षाबारे रिपोर्टिङ् लिन्छन् जिल्लाका सुरक्षा प्रमुखहरूसँग । सुरक्षा ब्यवस्थाबारे जानकारी लिएपछि सुरू हुन्छ उनको कामकार्बाही । शान्तिसुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् उनले ।

अघिल्लो साँझको सेड्युअलअनुसार भेटघाट, बैठक, स्थलगत निरीक्षण अनि जनताका गुनासाहरू सुन्ने कामको सेडुअल बनाएका छन्, उनले । सबै क्षेत्रको जानकारी लिएर बनाएका योजनाहरू अक्षरशः पालना गराउन अहोरात्र ड्युटीमै सक्रिय रहन्छन् उनी । सिमानाकामा तस्करी नियन्त्रण गर्न पनि आफै पुगिरहेका हुन्छन् सिमाक्षेत्रतिर ।

हो, हालै सरूवा भएर प्रमुख जिल्ला अधिकारीका रूपमा महोत्तरी आएका सहसचिब लालबाबु कवारीको कामको रफ्तार दुईगुना चारले बढेको छ । सम्भवतः कवारी मुश्लिम समुदायको पहिलो सीडीयो हुन्, जो यतिबेला जन्मभूमीको गुण तिरिरहेका छन् ।

तस्कर र माफियाको भागाभाग

स्थानीयकाअनुसार सिडिओ कवारीको महोत्तरीमा कार्यभार सम्हालेको दिनबाट २ नम्बरीहरूको निन्दहराम भएको छ । जिल्लाका दक्षिणवर्ती सिमानाकाको सुरक्षाब्यस्थामा कडाई गरेसँगै बोर्डरमा एकछत्र राज चलाइरहेका तस्करहरू दूलोभित्र छिरेको महशुस गरेकाछन् स्थानीयले । तस्करीका कारण राजश्वमा हुँदैआएको क्षति केही दिनयताको तथ्यांकले कम हुने संकेत गरेको सम्बद्व कर्मचारीहरू बताउँछन् । आउनसाथ सिमानाकाको स्थलगत निरीक्षण गरेका कवारीले सुरक्षाब्यवस्था २४ घण्टा कडा बनाउन निर्देशन दिए ।

राजश्ववृद्वि सरकारको प्रमुखमध्ये एक चुनौती हो । त्यसैले गएको कार्तिक २९ गते मलिवरास्थित जलेश्वर भन्सार कार्यालयमा बैठक राखे सिडिओ कवारीले । असोज महिनामा ३४ करोड ९० लाख ६२ हजार लक्ष्य रहेपनि ३० करोड ५५ लाख ८३ हजार रूपैयाँ अर्थात ८७.५४ प्रतिशत राजश्व संकलन भएकामा निर्धारित लक्ष्य प्राप्त गर्न सबै निकायको समन्वयात्मक प्रयास बढाउनुपर्ने महशुस उक्त बैठकले गर्यो ।

बैठकले बोर्डरमा सुराकी परिचालन गर्ने र शंकास्पद गोदामहरूको पहिचान गर्ने निर्णय पनि गरेको छ, राजश्वबृिद्वका लागि । कवारीको आगमनसँगै सिमाक्षेत्रमा चोरीतस्करीका सामानहरू दैनिकजसो पक्राउ पर्न थालेका छन् । जिल्लामा राजश्वबृद्वि गर्नुपर्ने कवारीका प्रमुखमध्ये एक कार्यभार हो ।

राजश्वबृद्विका लागि ब्यापारी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरूसँग नियमित छलफल र अन्तक्र्रिया चलाउने सिडिओ कवारीको योजना छ ।

एनजिओ/आईएनजिओहरूलाई नत्थि
बिभिन्नखाले हिंसाका कारण महोत्तरी सँधै चर्चामा आइरहन्छ । जातिय, बर्गिय, लैङ्गिक हिंसासँगै बिभिन्नखाले कुप्रथाले जकडिएको समाज रूपान्तरणका लागि भन्दै महोत्तरीमा अनिगिन्ति गैरसरकारी तथा सरकारी सँघसँस्थाहरू सक्रिय रहेपनि उपलब्धिभने शून्यजस्तै छ ।

यस्तैमा सिडिओ कवारीले ती संघसंस्थाहरूले आफू मनखुशी नभई संघीय सरकारको नीति तथा कार्यक्रमसँग मिल्ने अनि जिल्लाको आबश्यकता हेरे कार्यक्रमहरू बनाउन बैठक राखेरै निर्णय गराएका छन् । गैससहरूले जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरू कार्यान्वयनको अबस्था, कार्यक्रमहरूले सर्वसाधारण जनतामा पारेको प्रभाव तथा समग्र महोत्तरी जिल्लाको बिकासमा गरेको योगदानको समिक्षासमेत बैठकले गरेको छ ।

ई-रिक्सा चालक लाईसेन्स
महोत्तरीमा सार्बजानिक यातायात प्रयोगमा अब सर्बसाधारणले सास्ती भोग्नुपर्ने दिनको अन्त्य हुनेभएको छ । समग्र यातायात क्षेत्रको समस्या समाधानका लागि सिडियो कवारीले १० दिनभित्र प्रतिबेदन माग गरेका छन् ।

२५ गते बसेको बैठकले यातायात क्षेत्रमा देखा परेका जिल्लाभरका समस्या समाधानका लागि के के गर्नुपर्ने हो सुझावसहित प्रतिबेदन बुझाउन ट्राफिक प्रहरीका जिल्ला ईञ्चार्ज हेमराज जोशीको संयोजकत्वमा एक समिति बनाउने निर्णय गरिएको छ ।
त्यस्तै, महोत्तरीमा अब ई–रिक्साले रूट प्रमिट र चालक अनुमति प्रमाणपत्र समेत लिनुपर्ने छ, यसका लागि एक महिनाको समयावधी तोकिएको छ ।

सम्बन्धित पालिकाहरूबाट सिफारिस लिएर यातायात कार्यालय बर्दिबासबाट ईरिक्साहरूले रूट प्रमिट र लाईसेन्स अनिवार्यरूपमा लिनुपर्ने ब्यवस्था गरिएको छ ।

प्रहरी जनतासँग विनम्र बन्नुपर्ने

सिडिओ कवारीले जिल्लाको शान्तिसुरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्वता जनाएकाछन् ।
सरूवा भएर आउनसाथ जिल्लाको शान्तिसुरक्षा सम्बन्धि समिक्षा गरेपछि सुरक्षाकर्मीले सर्वसाधरणसँग विनम्र ब्यवहार गर्नुपर्ने’ निर्णय गराएका छन् सिडिओ कवारीले । लागुऔषध नियन्त्रणमा पनि उतिकै सक्रिय हुन निर्देशन दिएकाछन् सुरक्षाकर्मीलाई । कालोबजारी नियन्त्रण पनि चुनौतीको रूपमा रहेको भन्दै कवारीले कालोबजारीविरूद्व आक्रमकरूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

दलाल निषेध, जनताप्रति उत्तरदायी
सिडिओ कवारीले जिल्ला प्रशासन कार्यालयमा बिचौलिया दलालहरूलाई निषेध गरेकाछन् भने कर्मचारीलाई जनताप्रति उत्तरदायी भएर काम गर्न कडा निर्देशन दिएका छन् । जनताका काम छिटो, छरितो गर्न निर्देशन दिँदै कुनै काममा कुनैपनि किसिमको प्रलोभनमा परे दोषी कर्मचारी तत्काल कार्वाहीमा पर्ने उनको चेतावनी छ ।

बर्दिबासलाई बिजनेश हब बनाउने पहल
संघीय सरकारका प्रतिनिधि सिडिओ लालबाबु कवारीले जिल्लाको प्रमुख शहरी क्षेत्र बर्दिबासलाई बिजनेश हबका रूपमा बिकास गर्न पहल थालेका छन् । यसका लागि कवारीले बर्दिबासका स्थानीय होटल सञ्चालक लगायत ब्यापारी, ब्यवसायी, स्थानीय जनप्रतिनिधिसँग छलफल चलाए सिडिओ कवारीले । शहरिकरणलाई ब्यवस्थित गर्दै बिबाह, ब्रतबन्ध, बिभिन्न गोष्ठि, सेमिनर र पाटीहरूका लागि बृहत योजना बनाउनुपर्ने सुझाब उनको छ ।

शब्दचित्रमा कवारी
जलेश्वरमा जन्मिएका लालबाबु कवारीको समाजमा पहाडे समुदायको बाहुन र नेवारहरूको बर्चश्व थियो । बुवा बिजनेश गर्थे । १५ बर्षको कलिलो उमेरमै बिबाहबन्धनमा बाँधिएका थिए कवारी ।

२०५३ सालमा राष्ट्र बैकंबाट सरकारी सेवामा प्रबेश गरेका कवारी राम्रै सुविधा हुँदाहुँदै पनि निजामतीमा प्रबेश गरेका थिए । किन त ? भन्छन्– ‘आफ्नो समुदायको सेवा गर्न र युवा पिँढीका लागि उदहारणिय बन्न ।’ उनको समाजमा सबै सरकारी जागिरमा भएकाले उनले पनि सरकारी जागिर रोजेका थिए ।

२ छोरा र २ छोरीका पिता हुन् कवारी । उनकी जेठी छोरी यासमिन नाज कतारमा बिजनेश गर्छिन् । कतारको बिजनेश क्षेत्रमा यासमिन नाज स्थापित नाम हो । नाजको क्युएसटी सेफ्टी ट्रेनिङ् एण्ड कन्सल्टेन्सिको कतारमा छुट्टै स्थापित ब्राण्ड छ । त्यस्तै कान्छी छोरी एमबिए सकेर युएसएमा जागिरे छिन् । कवारीका एउटा छोरा एमबिए गरेर कतारमा जागिरे छन् भने अर्का छोरा ईञ्जिनियर हुन् ।

माईक्रो बायोलोजिमा पिएचडी गरेका कान्छो ज्वाईँ युएसएको सरकारी युनिभर्सिटीमा प्रोफेसर छन् भने जेठा ज्वाईँ पनि ईञ्जिनियर हुन् । कवारीकी जिवनसङ्गिनी गृहणी हुन् ।

समयक्रमसँगै जन्मस्थल जलेश्वरमा सेवा गर्न आईपुगेका छन् कवारी, त्यो पनि प्रमुख जिल्ला अधिकारीका रूपमा । यसलाई उनले अवशरका रूपमा सदुपयोग गर्ने योजना बनाएका छन् र दिनरात खटिरहेका छन् ।

कवारीको महोत्तरी प्रबेशसँगै कडा सिडिओ आयो भनेर चर्चापरिचर्चा चुलिएको छ । तर, मुश्लिम समुदायको भएकै कारण नेता, नीति–निर्माता र मिडियाले समेत प्रोत्सहान गर्नुको साटो हतोत्साहीत तुल्याउने गरेकोप्रति कवारीको दुखेसो छ ।

नीति निर्माणमा कुनै एक वर्गको हालिमुहाली रहेको उनको भनाई थियो । तर, जे होस् यतिबेला सिडिओ लालबाबु कवारीको कामकार्वाहीप्रति समग्र महोत्तरीबासी खुशी छन् । यसलाई कवारीले जीवनको अमूल्य कमाईका रूपमा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्